मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. इन्दिरा अधिकारी पौडेल ।

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त हुनुभएको छ । प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापकमा कार्यरत उहाँलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार नियुक्त गरिएको हो ।

उहाँलाई आन्तरिक बढुवा मार्फत् ऐनको दफा २१ बमोजिम डिनमा नियुक्त गरिएको हो । नियुक्तिसँगै डा. पौडेलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्नु हुनेछ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हाँसिल गर्नुभएको छ । मातृ तथा बाल स्वास्थ्य उहाँको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा सक्रिय हुनुहुन्छ । प्रतिष्ठानमा नर्सिङ विभागको प्रमुख रहँदा उहाँले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको पाठ्यक्रम विकास र नेतृत्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँसंग २० वर्ष नर्सिङ सेवामा कार्यरत डा. पौडेलले १७ वर्ष शैक्षिक (एकेडेमिक) क्षेत्रमा काम गरेको अनुभव छ । उहाँले प्रतिष्ठानको नर्सिङ विभागको विभागीय प्रमुखको रुपमा ३ वर्ष ६ महिनादेखि काम गर्दै आउनुभएको हो भने त्यसअघि मनमोहन इस्टिच्यसट अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेज भरतपुरमा काम गरिसक्नुभएको छ ।