मकवानपुरगढी गाउँपालिकाको कार्यालय ।

हेटौँडा : सामान्यतः सुत्केरी महिलाले आराम गर्नुपर्छ । सुत्केरीको स्वास्थ्यमा ध्यान दिएर पोषिलो खानेकुरा खुवाउने, नवजात शिशुको स्याहारमा विशेष ध्यान दिनुपर्छ । सुरक्षित मातृत्व, मातृशिशु स्वास्थ्यका दृष्टिकोणले गर्भवती भएपछिको एक हजार दिनलाई महत्वका साथ ‘सुनौला हजार दिन’ भनेर उक्त अवधिमा आमा र शिशुको स्याहारमा विशेष ध्यान दिनुपर्ने सरकारको आव्हान छ ।

तर, मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भने २८ दिनकी सुत्केरीलाई संघीय सरकारको एउटा कार्यक्रममा चालु आर्थिक वर्षको बाँकी अवधिका लागि स्वास्थ्य प्रवद्र्धनसम्बन्धी कार्यक्रममा खटाउनका लागि जनस्वास्थ्य अधिकृतमा सफल उम्मेदवारको रुपमा छनोट गरेको छ । परीक्षामा सहभागी ४ जनामध्ये सफल हुने २८ दिनकी सुत्केरी प्रजिना भण्डारी भने गाउँपालिकाकै प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर सुधन लामिछानेकी श्रीमति हुनुहुन्छ । सोमबार लिखित र मौखिक परीक्षा लिएर सोमबार नै अन्तिम नतीजा सार्वजनिक गरिएको हो । सोमबार बिहान ११ बजेका लागि तोकिएको परीक्षा प्रजिना भण्डारी ढिलो आएकै कारण साढे ११ बजे सञ्चालन गरिएको थियो ।

कार्यालय प्रमुखकी श्रीमति भएकै कारण २८ दिनको सुत्केरीलाई ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ, घर टोलमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ का लागि छनोट गरिएको भन्दै आलोचना भएको छ । मकवानपुरगढी गाउँपालिकाकै एक कर्मचारीले भन्नुभयो, ‘२८ दिनकी सुत्केरीलाई छनोट गरियो, त्यो पनि हाकिमकी श्रीमति भनेर डाँडाभरी हल्ला छ ।’ मातृ–शिशु स्वास्थ्यका दृष्टिले कार्यरत कर्मचारीको हकमा सुत्केरी भएपछि ९८ दिन तलबी बिदाको सुविधा रहन्छ भने कर्मचारीले थप ६ महिना बेतलबी बिदा समेत लिन पाउँछन् । यस्तो कानूनी व्यवस्था हुँदा हुँदै छोटो अवधिको करार सेवामा सुत्केरीलाई सफल उम्मेदवार बनाउनुमा कर्मचारीको स्वार्थ रहेको भन्दै आलोचना भएको हो ।

पालिकाको पदपूर्ति समितिको संयोजक प्रमुख प्रशासकीय अधिकृत नै रहने व्यवस्था भए पनि प्रमुख प्रशासकीय अधिकृतकी श्रीमति नै उम्मेदवार भएकोले पालिकाको शिक्षा शाखाका प्रमुख रामबहादुर घलानलाई पदपूर्ति समितिको संयोजकको जिम्मेवारी दिइएको थियो । कार्यालय प्रमुखकै श्रीमतिलाई नियुक्ति गर्दा आलोचना हुन सक्छ भनेर सल्ला हुँदा पनि प्रमुख प्रशासकीय अधिकृतले केही हुन्न हामी अगाडि बढ्नुपर्छ भन्नुभएको स्रोतको भनाइ छ । ‘पालिकाको प्रशासकीय प्रमुखले अरु कसैलाई जिम्मेवारी दिएर श्रीमतिलाई नियुक्त गरेको विषय स्वार्थपूर्ण भएको भन्दै आलोचना हुन सक्छ भनेर छलफल पनि भएको हो’, स्रोतले भन्यो, ‘आ केही हुन्न । हामी अगाडि बढ्नुपर्छ भन्दै प्रशासकीय अधिकृत सरले भन्नुभयो । यो सामूहिक निर्णय हो ।’

अझ आश्चर्यको कुरा त पालिकाको स्वास्थ्य शाखाले नै २८ दिनको सुत्केरीलाई नियुक्ति दिएर कसरी काममा लगाउने भन्नेमा आम चासो छ । यता पदपूर्ति समितिका सदस्य–सचिव समेत रहनुभएका पालिकाको प्रशासन शाखा प्रमुख रघुनाथ हुमागाईले सफल भएका उम्मेदवारलाई आफूले नभई स्वास्थ्य शाखाले काममा लगाउने बताउनुभयो । ‘सफल उम्मेदवार सुत्केरी हो, उहाँ हाकिमकी श्रीमति हुनुहुन्छ भन्ने हामीलाई थाहा हुने कुरा भएन’, सदस्य–सचिव हुमागाईले भन्नुभयो, ‘लिखित परीक्षामा जनस्वास्थ्य कार्यालयबाट विज्ञ आउनुभएको थियो । अन्तरवार्तामा म बसेको थिइनँ ।’

प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर सुधन लामिछानेले आफ्नी श्रीमति भएकै कारण नभई योग्य भएर सफल भएको बताउनुभयो । सुत्केरी हुनुअघि नै आवेदन आव्हान भएर कर्मचारी छनोटको प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले भने जनस्वास्थ्य अधिकृत छनोटको प्रक्रियामा आफू जानकार नभएको जीकिर गर्नुभयो ।