हेटौँडा : नेपाली नागरिक समाजले खेलेको ऐतिहासिक भूमिकाको अवमूल्यन अस्वीकार्य भएको गैरसकारी संस्था महासंघले जनाएको छ । सोमबार महासंघले विज्ञप्ती सार्वजनिक गर्दै नेपाली नागरिक समाजमाथिको नियोजित अविश्वास र लान्छना लगाउँदै लोकतन्त्र, संविधान र मानव अधिकारमाथिको आक्रमण भएको जनाएको छ ।
महासंघले गैरसरकारी संस्थाहरु र नागरिक समाज राज्यका विपक्षी नभई राज्यका नीति कार्यान्वयनमा सहयोग गर्ने साझेदार भएको जनाउँदै नेपालमा हालको राजनीतिक परिवेशमा गैरसरकारी संस्थाहरु नागरिक समाजमाथि नियोजित रुपमा हल्ला, भ्रम र आरोपहरु फैलाइएको भन्दै महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गैरसरकारी संस्थाहरुले लोकतन्त्रको मूल्य, सिद्धान्त र मर्मलाई शिरोपर गर्दै आएकोले यि संस्थाप्रतिको गलत टिप्पणी लोकतन्त्रमाथिको प्रहार भएको महासंघले ठहर गरेको छ ।
पछिल्लो समय जेन जी आन्दोलनपछि केही राजनीतिक वृत्त र सञ्चारमाध्यमहरुका अभिव्यक्ति र व्यक्तिगत टिप्पणीले नागरिक समाज र गैरसरकारी संस्थाहरुको नागरिक आन्दोलनलाई पु¥याएको योगदानको अवमूल्यन भएको समेत विज्ञप्तीमा उल्लेख छ । जेन जीहरुले उठाएका माग न्यायोचित रहेको भन्दै मुलुकलाई भ्रष्टाचारमुक्त र उत्तरदायी बनाउन विद्युतीय शासन प्रणाली र चुस्त अनुगमन प्रणाली लागू गर्न समेत सरकारलाई आग्रह गरेको छ । गैरसरकारी संस्था दलगत रुपमा प्रत्यक्ष सहभागी नभएको भन्दै जेन जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटना र सम्पति क्षतिका घटनाहरुको भत्सर्ना गर्दै गठित छानविन समितिले निष्पक्ष रुपमा छानविन गर्न समेत अनुरोध गरिएको छ । महासंघका अध्यक्ष अर्जुन भट्टराईले हस्ताक्षर गरी जारी गर्नुभएको विज्ञप्तीमा महासंघले सबै सरोकारवालाहरुलाई हल्ला, आरोपको राजनीति अन्त्य गरी संवाद, नीति निर्माण र सुधारको बाटो रोज्न समेत अपिल गरिएको छ ।
















