हेटौँडाः ‘सी’ डिभिजन लिग फुटबल खेल्ने तयारीमा रहेको हेटौँडाको पिप्ले युवा क्लब र नेपालगञ्जको नेपालगञ्ज–११ बीच मंगलबार मैत्रीपूर्ण खेल भएको छ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको मैत्रीपूर्ण खेलमा पिप्ले युवा क्लब १–३ गोलअन्तरले पराजित भएको छ ।
मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । नेपालगञ्ज–११ एक सातादेखि हेटौँडामै बन्द प्रशिक्षणमा छ । काठमाडौं जानुअघि हेटौँडामै रहेर बन्द प्रशिक्षण सञ्चालन गरिने नेपालगञ्ज–११ का अधिकारीले जनाएका छन् । पिप्ले युवा क्लबले पनि २ सातादेखि बन्द प्रशिक्षण सुरु गरेको जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी मंसिर ४ गतेबाट ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।
हेटौँडाको पिप्ले युवा क्लब पहिलो पटक ‘सी’ डिभिजन लिग छनोट खेल्न लागेको हो भने नेपालगञ्ज–११ अघिल्लो पटक सेमिफाइनलमा पराजित भएको टिम हो । ‘सी’ डिभिजन लिग छनोटमा ३९ वटा टिमको सहभागिता रहने छ । ३ वटा टिमको १३ वटा समूह बनाएर लिग खेलाएर समूह विजेताबीच नकआउट चरणको खेल खेलाइनेछ । ‘सी’ डिभिजन छनोटको फाइनल खेल्ने २ टिमले आगामी ‘सी’ डिभिजन लिग फुटबल खेल्नेछ ।
















