हेटौँडा : हेटौँडा–१५, पारिश्रमिक चोकमा अटो र मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका छन् । आइतबार दिउँसो ४ बजेर १५ मिनेटको समयमा भित्रि सडकखण्डमा रातोमाटेबाट चिसापानीतर्फ जाँदै गरेको प्र ३–०३–००१ ह ०१२८ नम्बरको अटो र बिपरित दिशाबाट आउँदै गरेको बा प्र ०३–००३ प ९०९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१८, का २७ वर्षीय सनम कुमार महत, अटोमा सवार हेटौँडा–८, कमानेकी ६२ वर्षीया मिन कुमारी न्यौपाने र २२ वर्षीया सिता गजुरेल घाइते भएका थिए । मोटरसाइकल चालक सनमलाई हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको छ भने अटोमा सवार दुई जनाको हेटौँडा अस्पतालमा उपचार भई रहेको छ । अटो चालक हेटौँडा–१५ का ४० वर्षीय दल बहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















