हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१–०२८ च २०६० नम्बरको बोलेरोले हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ७५ प ७६०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बोलेरोको ठक्करबाट मोटरसाइकल चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३, मलहरीका १८ वर्षीया सबरोज मिया मन्सुरी र पछाडी सवार बाराको परवानिपुर गाउँपालिका–३, मुस्लिम टोलका १८ वर्षीय प्रवेश आलम घाइते भएका थिए । घाइते दुवैलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । बोलेरो चालक रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, का ३३ वर्षीय दिपेन्द्र गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।