हेटौँडा : हेटौँडा–२ स्थित प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार बालकुमारी पार्टी प्यालेसमा संस्थाका अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ ।
संस्थाले गत आर्थिक वर्षमा ९ करोड ८५ लाख ८५ हजार रुपैयाँको कुल कारोबार गरी ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यस अवधिमा संस्थाको शेयर पुँजी ८ प्रतिशतले वृद्धि भएको छ भने कुल बचत १८.८७ प्रतिशतले बढेको छ । सहकारीमा १ हजार ८ सय ६५ जना सदस्यहरु रहेका छन् । संस्थाले दैनिक बचतमा १ दशमलव ५ प्रतिशत, मासिक बचतमा ७ प्रतिशत, १२ महिने आवधिक बचतमा ९ प्रतिशत र २४ महिने आवधिक बचतमा ९ दशमलव ५ प्रतिशत व्याज दिँदै आएको छ ।
सहकारीले व्यापारिक र घरायसी कर्जा १५ प्रतिशतमा उपलब्ध गराउँदै आएको संस्थाले सवारी साधन खरिद, व्यापारिक तथा घरायसी धितो कर्जा १४ प्रतिशतमा प्रदान गरिरहेको छ । साधारणसभाको अवसरमा संस्थाले ३ जना सदस्यहरूलाई सम्मान गरेको छ । हेटौंडा–२ का आनन्दभक्त श्रेष्ठलाई ज्येष्ठ सदस्य सम्मान, हेटौँडा–९ की पूजा श्रेष्ठलाई असल बचतकर्ता र हेटौँडा–५ का रमेशकुमार चौलागाईंलाई असल ऋणीको रुपमा सम्मान गरिएको छ ।
















