विद्यार्थीको घरदैलोमा पुग्दै शिक्षकहरु ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले घरदैलो कार्यक्रमको गरेको छ । तिहार र छठ बिदापछि मंगलबारबाट विद्यालयमा पठनपाठन सुरु भएपनि विद्यार्थीको उपस्थिति एकदमै न्यून रहेकोले घरदैलो कार्यक्रम गरेको विद्यालयकी प्रधानाध्यापक सपना लामाले जानकारी दिनुभयो ।

विद्यालयले पालिकाको शैक्षिक क्यालेण्डर अनुसार दशैंपछि पठनपाठन सञ्चालन गरे पनि विद्यार्थीको उपस्थिति एकदमै न्यून रहेको थियो । दशैं बिदापछि दुई हप्ता विद्यालय सञ्चालन हुँदा कम विद्यार्थी उपस्थित भएका थिए । विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत रहेपनि मंगलबार जम्मा ३५ जना विद्यार्थीमात्रै उपस्थित भएका थिए । विद्यालय खुल्ने समयको बारेमा विद्यार्थीलाई जानकारी गराए पनि अभिभावकलाई जानकारी नगराउने हुँदा शिक्षकहरु आफैँ खटिएर अभिभावकलाई विद्यालय खुला भएको जानकारी गराएको प्रधानाध्यापक लामाले बताउनुुभयो ।

बुधबार विद्यार्थी संख्या केही बढे पनि बिहीबार र शुक्रबार पानी परेका कारण उपस्थिति न्यून रहेको उहाँले जानकारी दिनुभयो । विद्यार्थी तीन घण्टादेखि हिँडेर विद्यालय आउनुपर्ने हुनाले अहिलेको मौसमअनुसार विद्यार्थी संख्या कम भएको प्रधानाध्यापक लामाले बताउनुभयो । विगतमा विद्यालयको अभिभावकहरूमा विद्यार्थीको पठनपाठनप्रति एकदमै न्यून चासो रहेको भए पनि अहिले केही अभिभावकहरूले चासो दिन थालेको लामाले बताउनुभयो । विद्यालयले दशैंअघि ८, ९ र १० कक्षाका विद्यार्थीहरूलाई अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गरेको थियो । विद्यालयले दोस्रो त्रैमासिक परीक्षा शैक्षिक क्यालेण्डर अनुसार नै सञ्चालन गर्ने भएको छ ।