हेटौँडाः मकवानपुरको स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले बिहीबार पनि २ घण्टा सेवा ठप्प पारेर आफ्नो आन्दोलन जारी राखेका छन् । नेपाल नर्सिङ संघको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप हेटौँडा अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले अत्यावश्यक बाहेकको नर्सिङ सेवा ठप्प पारेका हुन् ।
संघले घोषणा गरेका आन्दोलनको कार्यक्रममा ऐक्यवद्धता जनाउँदै मकवानपुरमा पनि कात्तिक १८ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेक नर्सिङ सेवा बन्द हुने नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले जानकारी दिनुभयो । उहाँले निजी अस्पतालमा सरकारले तोकेको भन्दा एक तिहाई पनि तलब नदिएको भन्दै सस्तो श्रमिकको रुपमा मात्र नर्सलाई हेरिने गरेको बताउनुभयो ।
नर्सहरुको आन्दोलनका मागमा केन्द्रित भएर बिहीबार हेटौँडाका निजी अस्पतालहरुमा अनुगमन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन टोलीले मकवानपुर सहकारी अस्पताल, सन्चो अस्पताल, सिटी अस्पताललगायतमा अनुगमन गरेको हो । नेपाल नर्सिङ संघको संयोजकत्वमा प्रदेश स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत, जिल्ला प्रशासनका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनका क्रममा अधिकांश अस्पतालमा १२ हजार ५ सयदेखि आधारभूत तलब सुरु भएको पाइएको नेपाल नर्सिङ संघ मकवानपुरकी अध्यक्ष गंगा दाहालले जानकारी दिनुभयो ।
यस्तै, थोरै नर्सिङ कर्मचारी राखेर रात्रिकालीन समयमा एक्लै ड्युटीमा खटाउनेजस्ता क्रियाकलापसमेत पाइएको उहाँले स्पष्ट पार्नुभयो । निजी अस्पतालहरुमा कार्यरत नर्सहरुको सुत्केरी बिदा, जोखिम भत्ता, बिदालगायत अन्य सेवा सुविधाबारे गरिएको अनुगमनपश्चात पाइएका समस्याहरु समाधान गरी नर्सहरुको माग पूरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशहरुमा अनुगमन टोली गठन गरी कार्य अघि बढाएकोले हेटौंडामा पनि टोलीले अनुगमन सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
यसअघि कात्तिक २ गते नेपाल नर्सिङ संघले पेश गरेको मागबारे अध्ययन गरी प्रतिवेदन बुझाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल बनाएको छ । कार्यदलले अबको एक हप्तामा प्रतिवेदन बुझाउने भएकाले प्रतिवेदन कुरेको पनि अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो । १८ गतेसम्म पनि माग सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने उहाँले जानकारी दिनुभयो ।
नेपाल नर्सिङ संघले गत कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरुको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारको सरह हुनुपर्ने प्रमुख माग राख्दै आन्दोलन सुरु भएको हो । दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने, रात्रिकालीन वा सार्वजनिक वा चाडपर्व बिदाको दिनमा काम गरेवापत सरकारी, निजी तथा शिक्षण अस्पतालमा अतिरिक्त तथा जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, योग्यता र अनुभवको आधारमा स्तरवृद्धि तथा बढुवाको व्यवस्था हुनुपर्ने, ग्रेडको व्यवस्था हुनुपर्ने, औद्योगिक नर्सको व्यवस्था हुनुपर्ने लगायतका १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम सुरु भएको थियो ।











