हेटौँडाः असोज महिनामा हेटौँडा अस्पतालमा १९ जना २० वर्षमुनिका किशोरीहरु आमा बनेका छन् । असोज महिनामा अस्पतालको मातृशिशु शाखामा ३ सय बढी महिलाले प्रसुती सेवा लिएकामध्ये १९ जना २० वर्षभन्दा कम उमेरका किशोरी आमा बनेका हुन् ।
प्रसुती सेवा लिने २० वर्षभन्दा कम उमेरका १९ जनामध्ये सबैभन्दा धेरै मकवानपुरको बकैया गाँउपालिकाका ५ जना रहेका छन् । अस्पतालमा हेटौंडा उपमहानगरपालिकाका ४ जना, मकवानपुरगढी गाँउपालिकाका ३ जना, बागमती गाँउपालिकाका दुई जना र सर्लाही जिल्लाका दुई जना छन् । यस्तै, चितवन, बारा र बझाङ जिल्लाका एक एक जना २० वर्ष अगावै सुत्केरी भएको हेटौँडा अस्पतालले जनाएको छ ।
२० वर्ष उमेर नपुगी आमा बन्दा आमा र शिशु दुबैको स्वास्थ्य जोखिममा रहने हेटौंडा अस्पतालको मातृशिशु शाखाकी नर्सिङ संयोजक देवकी खतिवडाले बताउनुभयो । आमाको प्रजनन अंग विकास भइनसकेकोले प्रसुती सेवासमेत जोखिममा हुनसक्ने, सानो उमेरमा गर्भवती हुँदा शिशु पूर्ण परिपक्व नभई जन्मने सम्भावना रहने र समय नपुगी जन्मेको शिशुलाई विभिन्न संक्रमणको समेत खतरा रहने उहाँले जानकारी दिनुभयो ।
नेपालको कानूनले २० वर्ष उमेर पूरा नभई विवाह गर्नुलाई दण्डनीय अपराध माने पनि २० वर्ष भन्दा कम उमेरमा विवाह र सन्तान प्राप्त हुने क्रम रोकिएको छैन । कानून उल्लंघन भइरहँदा सरोकारवालाले यसको न्यूनीकरणमा ध्यान नदिँदा नवजात शिशुको जन्मदर्तामा समस्या हुने जोखिम रहन्छ । २० वर्ष भन्दा कम उमेरका अभिभावकको नामबाट सन्तानको जन्मदर्ता हुन सक्दैन ।











