हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका विभिन्न १२ वटा योजनामा १० करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को सामुदायिक भवन बनाउन ६९ लाख, वडा नम्बर १३ को वडा कार्यालय बनाउन १५ लाख, वडा नम्बर १४ को खानेपानी योजनाका लागि २ करोड ४ लाख, वडा नम्बर १२ को वडा कार्यालयको भवन बनाउन ५० लाख प्रदान गरेको हो ।
त्यस्तै थाहा नगरपालिका–७ को आग्रामा बृहत खानेपानी आयोजनाका लागि १ करोड ५० लाख, ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनका लागि १ करोड, मनहरी गाउँपालिकाको खानेपानी आयोजनाका लागि १५ लाख, मनहरी गाउँपालिकाको मोतीदेवी सभाहलका लागि १२ लाख प्रदान गरेको छ । यसैगरी मकवानपुरगढी गाउँपालिकाको बृहत खानेपानी आयोजनाका लागि एक करोड ३५ लाख, राक्सिराङ गाउँपालिकामा छात्रावास निर्माणका लागि एक करोड, बकैया गाउँपालिकाको जुरेली बृहत खानेपानी आयोजनाका लागि एक करोड र मनहरी गाउँपालिकाको वडा कार्यालय भवन निर्माण गर्न एक करोड रुपैयाँ प्रदान गरेको हो ।
जिल्ला समन्वय समितिले मौज्दात कोषमा भएको रकमबाट भवन निर्माणमा ६० प्रतिशत र स्थानीय तहको ४० प्रतिशत लागत सहभागिता र खानेपानी योजनामा ७५ प्रतिशत जिसस र २५ प्रतिशत स्थानीय तहको लागत सहभागितामा जिल्लाका १२ योजनामा काम गरेको जिल्ला समन्वय समिति मकावनपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । साविक जिल्ला विकास समितिको कार्यालय हुँदादेखिको मौज्दात कोषमा अहिले १६ करोड रुपैयाँ बाँकी रहेको छ । जिल्ला समन्वय समितिले कार्यविधि बनाएर उक्त कोषबाट सामुदायिक भवन, स्वास्थ्य चौकी तथा खानेपानीको योजनामा लागत सहभागितामा काम गर्दै आएको प्रमुख खुलालले बताउनुभयो ।