कोरोनालाई जितेर फर्कने क्रममा आइसोलेसन वार्डमा हेटौंडा–९ का मोतीलाल पोखरेको विदाई गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्लामा कोराना भाइरसलाई जितेर ४९ जना आ—आफ्नो घर फर्किसकेका छन् । डिस्चार्ज भएकाहरु आफूलाई कोरोनाको रिपोर्ट पोजेटिभ देखिए पनि स्वास्थ्यमा कुनै समस्या नआएको बताउँछन् । आइसोलेसनमा बस्दा तातो पानी, बेसार पानी, लसुन र तुलसी पानी लगायत सेवन गरेर आफूलाई उपचार भएको सङ्क्रमणमुक्त भएकाहरुको भनाइ रहेको छ ।

गत जेठ १२ गते भारतबाट आउनुभएका हेटौंडा—९ का मोतीलाल पोखरेलले आफूलाई कुनै समस्या नदेखिए पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बताउनुहुन्छ । उहाँको स्वाबको नमूना जेठ १४ गते हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । असार ४ र ५ गते गरिएको परीक्षणमा कोरोना सङक्रमणमुक्त भएपछि असार ६ गते आइसोलेसनबाट डिस्चार्ज हुनुभएको हो । चार पटकसम्म कोरोना पोजेटिभ देखिएका कारण लामो समयसम्म पोखरेलले आइसोलेसनमा समय बिताउनुभयो ।

रिपोर्ट पोजेटिभ आए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएर पुरै समय आफू सामान्य रहेकोेले आफूलाई रोग लागेको विश्वास नै नलागेको उहाँ बताउनुहुन्छ । आफूले चिकित्सकको सल्लाह अनुसार दिनमा ६ लिटरसम्म तातोपानी खाएको भन्दै बेसार पानी र गुज्रोको गानोको रस खाएको पोखरेल सुनाउनुहुन्छ । आइसोलेसनबाट डिस्चार्ज भएपछि पनि चिकित्सकको सल्लाहअनुसार घरमा परिवारसँग नबसेर १० दिनसम्म छुट्टै कोठामा बसेको उहाँले जानकारी दिनुभयो । कोरोनालाई जित्न आत्मबल बलियो बनाउनु पर्ने भन्दै हाल कोरोना पोजेटिभ देखिएकोहरुलाई कति पनि नडराउन आग्रह गर्नुहुन्छ ।

कोरोनालाई जितेर घर फर्किसक्नुभएका ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ का फूर्वा घलानको पनि उस्तै अनुभव रहेको छ । उहाँ साउदीबाट आउनुभएको थियो । साउदीमा कोरोनाको रिपोर्ट नेगेटिभ आएको तर नेपाल आएपछि पोजेटिभ देखिएकोले आफूलाई प्लेनमा आउँदा सङ्क्रमण भएको हुन सक्ने घलानको अनुमान रहेको छ । हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्डमा ८ दिन बसेका घलानले त्यहाँ हुँदा ५ जना सङ्क्रमित रहेको र कसैलाई पनि स्वास्थ्यमा समस्या नभएको बताउनुभयो ।

आइसोलेसनमा बस्दा तातोपानी र बेसारपानी चिकित्सकको सल्लाह अनुसार सेवन गरेको भन्दै आफूले भिटामिन, ग्यास्टिकको औषधी, आयुर्वेदिक औषधी पनि खाएको बताउनुभयो । आइसोलेसनमा रहँदा चिकित्सकहरुले दिन रात स्वास्थ्य अवस्थाबारे सोधेर आफूहरुलाई धेरै सेवा गरेको भन्दै आइसोलेसनको व्यवस्थापन र खानपान पनि राम्रो रहेको जानकारी दिनुभयो । कोरोनाले खासै कठिन नहुने भन्दै नकारात्मक सोँच नराख्न कोरोनाका बिरामीहरुलाई उहाँले सुझाउनुभएको छ ।

कोरोनालाई जितेका हेटौंडा–५ का २२ वर्षीय पुरुषको पनि उस्तै अनुभव रहेको छ । आफू भारतबाट आउँदै गर्दा बाटोमै कोरोना सङ्क्रमण भएको उहाँको अनुमान रहेको छ । कोरोना लागे पनि तातोपानी खाने, प्रतिरक्षा क्षमता बढाउने खानेकुराहरु खाएर कोरोनालाई सजिलै जित्न सकिने उहाँले सुझाव दिनुभयो । साउदीबाट आउनुभएका हेटौंडा–६ का एक पुरुषले आफूलाई लक्षण नदेखी नै कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफूलाई विश्वास नलागेको बताउनुभयो । आइसोलेसन बसेको ४ दिनमै आफू कोरोनामुक्त भएको उहाँले बताउनुभयो । तर कोरोनाले केहि हुँदैन भनेर हेलचेक्र्यााइँ गर्न नहुने भन्दै आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुपर्ने उहाँको भनाइ थियो ।

मनहरी–७ का एक युवकले पनि आफू दुबईबाट आएको भन्दै आफूलाई कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि ज्वरो, रुघाखोकी जस्ता कुनै समस्या नदेखिएको बताउनुभयो । आइसोलेसनमा ३ दिन बसेको भन्दै त्यहाँ तातोपानी, बेसारपानी, लसुन खानुकासाथै तातोपानीमा सन्चो हालेर बाफ लिएको उहाँले बताउनुभयो ।