हेटौँडा : रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ च्यास्कुकी रुखबाट लडेर घाइते भएकी वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया पोक्थी माया मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आइतबार साँझ ५ बजेर ३० मिनेटको समयमा घर नजिकै रहेको धनुकाठको रुखबाट घाँस झार्ने क्रममा मगर रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् । घाईते मगरको जिल्ला अस्पताल रामेछापमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल र त्यसपछि काठमाडौंको केएमसी अस्पतालमा रिफर गरिएको थियो ।
उपचारका क्रममा स्वास्थ्यमा सुधार नदेखिएपछि परिवारको सहमतिमा उनलाई रामेछाप फर्काइएको थियो । सोमबार दिउँसो २ बजेर ४३ मिनेटको समयमा जिल्ला अस्पताल रामेछापमा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।










