मंगलबार बिहान प्रार्थना समयमा सहभागी जीएस निकेतन माविका विद्यार्थी ।

हेटौँडा : चाडपर्वको लामो बिदापछि आज मंगलबारबाट हेटौँडाका केही विद्यालय खुलेका छन् । दसैं, तिहार र छठ पर्वको अवसरमा एक महिनाभन्दा बढी समय बन्द भएका विद्यालयमध्ये केही आजबाट सुचारु भएका छन् । भोलि बुधबारबाट भने विद्यालयसँगै क्याम्पस तहका शैक्षिक संस्था समेत सुचारु हुँदैछन् ।

हेटौँडामा भदौ २३ गतेको जेन जी आन्दोलनदेखि नै केही शैक्षिक संस्था बन्द थिए भने केही विद्यालय असोज १३ गतेदेखि बिदा भएका थिए । पर्व बिदाको अन्तर्गत नियमित पठनपाठन नभए पनि दसैं र तिहारको बीचमा केही विद्यालयले विद्यार्थीलाई सीपमूलक तथा जिवनोपयोगी शिक्षा प्रदान गरेको थियो । पर्व बिदाको समयमा अधिकांश विद्यालयले विद्यार्थीलाई शैक्षिक भ्रमणमा लगेका थिए ।

मंगलबारबाट हेटौँडा–५ स्थित जिएस निकेतन माविमा पठनपाठन सुचारु भएको छ । विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेका अनुसार पठपाठन सुरु भए पनि विद्यार्थीहरुको उपस्थिति भने न्यून रहेको छ । विद्यालयमा एक हजार पाँच सय जना विद्यार्थी भए पनि मंगलबार एक हजारको हाराहारीमा विद्यार्थी उपस्थित भएका छन् ।