हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडाबाट ४५ किलोमिटरको दूरी अवस्थित छ, कैलाश गाउँपालिका । पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण कैलाश विकासका पूर्वाधारबाट कोशौं टाढा छ । मकवानपुरको कैलाश गाउँपालिकाको यथार्थ हो, जहाँ कालोपत्रे सडक नै छैन । भएका सडकहरु पनि सिजनमा मात्र चल्छन् । हिउँदभरि चलेको सडक वर्षा लागेलगत्तै बन्द हुन्छन् । यो अवस्था कैलाशमा विगतका वर्षदेखि नै चल्दै आएको छ । मकवानपुरको विकट गाउँपालिका कैलाश, जहाँका बासिन्दाले दशकौंदेखि विकासको अनुभूति गर्न पाएका थिएनन् ।

गाउँपालिका स्थापना भएको लामो समयसम्म एक सेन्टिमिटर पनि कालोपत्रे सडक नहुनुले यहाँको विकटता र विकासको असमान वितरणलाई प्रष्ट्याउँछ । वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे बाटो यहाँका नागरिकको नियति बनेको थियो । तर, अहिले यो चित्र फेरिँदैछ । संघ, प्रदेश र स्थानीय सरकारको त्रिपक्षीय सहकार्यमा सञ्चालित सडक विस्तार र स्तरोन्नतिको महाअभियानले कैलाशमा आशाको किरण जगाएको छ ।

बेरोजगारी र वैदेशिक रोजगारीको चाप
२४ हजार ३६२ जनसंख्या रहेको कैलाश गाउँपालिकाको आर्थिक तथा सामाजिक संरचनामा कृषि क्षेत्रको एकल प्रभुत्व रहेको देखिन्छ । गाउँपालिकाको कुल जनसंख्यामा ११ हजारभन्दा बढी व्यक्ति कृषि पेशामा संलग्न रहेको तथ्यांक रहेको छ ।

उद्यमशीलता र औद्योगिक क्षेत्रमा संलग्नता न्यून रहेको कैलाशमा बेरोजगारी र वैदेशिक रोजगारीको चाप बढी रहेको छ । कैलाशका ११ हजार ६३ व्यक्तिहरु प्रत्यक्षरुपमा कृषिमा आश्रित छन् । गाउँपालिकामा २ हजार ७१५ विद्यार्थीहरु रहेका छन् भने ५९१ व्यक्ति पूर्णरुपमा बेरोजगार छन् । कैलाशमा कृषिबाहेक, ठूलो संख्या ज्याला मजदुरीमा निर्भर छ । गाउँपालिकामा ६११ जना ज्याला मजदुर र ३१९ जना यातायात मजदुर रहेका छन् । ४९४ जना वैदेशिक रोजगारीमा छन् । गाउँमा रोजगारीका पर्याप्त अवसर नहुँदा युवाहरु विदेशिन बाध्य रहेका छन् ।

कैलाशमा १० जनामात्र उद्यमी रहेका छन् भने औद्योगिक मजदुरको संख्या २६ छ । गाउँपालिकामा ८६ जना सरकारी कर्मचारी, ७९ जना शिक्षक र ८६ जना गैर–सरकारी संस्थामा कार्यरत छन् । कैलाशमा १ हजार ६२४ महिला गृहिणीको भूमिकामा छन् भने १६२ जना सानातिना काम गरेर स्वरोजगार बनेका छन् ।

विकासको केन्द्रविन्दुः कालिकाटार जोड्ने सडक
गाउँपालिकाको विकासको मूल ढोका खोल्न सबैभन्दा पहिले पालिकाको केन्द्रसम्म सहज पहुँच आवश्यक अनुसार गाउँपालिकाको केन्द्र कालिकाटारलाई जोड्ने चुनियाँ–नामटार मोटरबाटोको निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । जसअन्तर्गत् प्रदेश सरकारको १८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन ७ किलोमिटर लामो भाल्टार–बनझाक्री सडकखण्डको स्तरीकरण कार्य अन्तिम चरणमा पुगेको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिनुभयो ।

‘प्रदेश सरकारको लगानीमा भइरहेको काम लगभग सकिन लागेको छ,’ गाउँपालिका अध्यक्ष मोक्तानले भन्नुभयो, ‘बाँकी खण्डको निर्माण संघीय सरकार र गाउँपालिकाको संयुक्त बजेटबाट अगाडि बढेको छ । हाल तीव्र गतिमा ग्राभेल ओछ्याउने काम भइरहेको छ र हाम्रो लक्ष्य आगामी वर्षसम्ममा यो सडकलाई कालोपत्रे गर्नु हो । उक्त सडक निर्माण सम्पन्न भएपछि कैलाशका बासिन्दालाई हेटौंडासम्मको यात्रा सहज र छिटो हुनेछ, जसले कृषि उपजको बजार पहुँचदेखि स्वास्थ्य सेवा र शिक्षासम्मको पहुँचलाई सरल बनाउनेछ ।’

१० वटा वडामा फैलिएको कैलाश गाउँपालिका भौगोलिकरुपमा माथिल्लो र तल्लो भेगमा बाँडिएको छ । सडक सञ्जालको विस्तारमार्फत् यी दुबै भूभागलाई पालिकाको मुकामसँग जोड्ने र विकासको प्रतिफल सबै नागरिकसम्म समानरुपमा पु¥याउने लक्ष्य गाउँपालिकाले लिएको उहाँले बताउनुभयो । हाल निर्माणाधीन सडकहरुले पालिकाको मुहार फेर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सडक सञ्जालको विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा नयाँ सम्भावनाका ढोकाहरु खुल्नेछन् र विकट कैलाश साँच्चिकै सुगम र समृद्ध बन्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।

विकाससँगै गाउँपालिकामा नयाँ चुनौतीहरु पनि देखिएको उहाँले बताउनुभयो । कैलाशको माथिल्लो भेगमा पर्ने गोगने–गैरीगाउँ मोटरबाटो निर्माणका लागि ४० करोड रुपैयाँको ठेक्का सम्झौता भइसके पनि सडक डिभिजन कार्यालयबाट भोगचलनको अनुमति प्राप्त नहुँदा काम अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । प्रशासनिक अवरोधहरूले विकासको गतिलाई सुस्त बनाउने जोखिम बढिरहेको उहाँले बताउनुभयो ।

‘गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून हुनु विकासका लागि अर्को चुनौती हो । पालिकाले आफ्नो सीमित बजेटबाट सानातिना पूर्वाधार निर्माण गरे पनि ठूला र रणनीतिक महत्वका आयोजनाहरुका लागि संघ र प्रदेश सरकारकै मुख ताक्नुपर्ने बाध्यता छ’, अध्यक्ष मोक्तानले थप्नुभयो, ‘हाम्रो आन्तरिक आम्दानीले कर्मचारीलाई तलब खुवाउन पनि धौ–धौ पर्छ । त्यसैले हामीले संघ र प्रदेश सरकारसँग निरन्तर समन्वय गरेर ठूला योजनाहरु ल्याइरहेका छौं ।’

वर्षौंदेखि धुलो र हिलोको सास्ती खेपेका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमै सडक कालोपत्रे हुने तयारीले उत्साहित देखिन्छन् । सडक स्तरोन्नतिको काम सुरु भएसँगै उनीहरूको दैनिकीमा सकारात्मक परिवर्तनको आशा पलाएको कैलाश–१० का माणिकलाल तामाङ बताउनुहुन्छ । ‘पहिला बिरामी पर्दा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता थियो, गाडी चल्ने बाटो भए पनि यात्रा निकै कष्टकर थियो, उहाँले भन्नुभयो, ‘अहिले बाटो बन्न थालेपछि हामीलाई ठूलो राहत मिलेको छ । अब हाम्रा छोराछोरीले सहरमा जस्तै सुविधा पाउनेछन् र गाउँ छोडेर जाने क्रम पनि घट्नेछ भन्ने विश्वास छ ।’

सडक सञ्जालको विस्तारले बसाइँसराइको दरलाई न्यूनीकरण गर्ने र गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्रिभुवन राजपथको चुनियाँदेखि कैलाश गाउँपालिकाको केन्द्र कालिकाटार २१ किलोमिटरको दुरीमा रहेको छ । चुनियाँ–नामटार–कालिकाटार सडक २०३७ सालदेखि चलनचल्तीमा रहेता पनि हालसम्म स्तरीकरण नहुँदा स्थानीयले समस्या भोग्दै आएका थिए ।