देवकोटाको प्रतिमामा माल्यार्पण गर्नुहुँदै वडाध्यक्ष जुना दाहाल ।

हेटौँडा : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १७औँ जन्मजयन्ती हेटौँडामा पनि मनाइएको छ । हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालय परिसरमा रहेको महाकवि देवकोटाको अर्धकदको प्रतिमामा माल्यार्पण गर्नुका साथै देवकोटाको कृतित्व तथा व्यक्तित्वका बारेमा चर्चा गरिएको थियो ।

महाकवि देवकोटाको कृतित्व र व्यक्तित्वका बारेमा त्रिभुवन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक वैकुण्ठ नेपालले जानकारी गराउनुभएको थियो । साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबको संयुक्त आयोजनामा देवकोटा जयन्ती मनाइएको हो । युवप्रकाश क्लबका अध्यक्ष दीपक सिवाकोटीको अध्यक्षता तथा वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार देवराज खरेल, निमेष निखिल, पुरुषोत्तम आचार्य र स्वस्तिका बानियाँले महाकवि देवकोटाकै रचना वाचन गरेका थिए ।

महाकवि देवकोटाको जन्म १९६६ सालमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई एक सय वटाभन्दा धेरै कृति दिनुभएको छ । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउनुभएको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको २०१६ साल भदौ २९ गते निधन भएको थियो ।