नवनियुक्त क्याम्पस प्रमुख डा. केसी ।

हेटौँडा : त्रिभुवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान अध्ययन संस्थानको हेटौँडा क्याम्पस प्रमुखमा उपप्राध्यापक डा. यमबहादुर केसी नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार डा. केसीले आइतबारदेखि क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।

२०७३ सालमा त्रिवि सेवामा प्रवेश गर्नुभएका डा. केसी ४ वर्षे कार्यकालका लागि प्रमुखमा नियुक्त हुनुभएको हो । नवनियुक्त क्याम्पस प्रमुख डा. केसीले वन विज्ञान अध्यापन हुने देशकै पुरानो शैक्षिक संस्थालाई गुणस्तरीय, विश्वस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रुपमा निरन्तर विकास गर्दै लैजानुपर्ने बताउनुभयो । पुरानो शैक्षिक संस्था भएकोले स्रोत, सामग्री, भवन पुरानो हुनु चुनौतिको रुपमा रहेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशको रोल्पा जिल्लाका डा. केसीले बुटवलबाट एसएलसी उत्तीर्ण गर्नुभएको हो भने वनविज्ञान विषयमा पोखराबाट स्नातक तह उत्तीर्ण गर्नुभएको हो । जर्मनीबाट स्नात्तकोत्तर तह उत्तीर्ण गर्नुभएका केसीले चीनको बेइजिङ वन विज्ञान विश्वविद्यालयबाट विद्यावारिधी उपाधि हासिल गर्नुभएको छ ।

यसअघि क्याम्पस प्रमुखमा शिवकुमार मानजन रहनुभएको थियो । उहाँको पदावधि भदौ १० गतेबाट सकिएपश्चात् आइतबारबाट डा. केसी आउनुभएको हो ।