हेटौँडा : कमाने फुटबल एकेडेमीको आयोजनामा ८ ‘ए’ साइड महिला फुटबल प्रतियोगिता आज बुधबारबाट सुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका कमाने फुटबल एकेडेमीको टिम र बारा जिल्लाको नव जनजागृति भेट्रान्स क्लब भिड्दैछ । खेल चन्द्रोदय माविको खेलमैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागि ८ वटा टिमलाई दुई समूहमा बाडिएको छ । समूह ‘ए’ मा कमाने एकेडेमी र नव जनजागृति भेट्रन्ससँगै हेटौँडाको रातोमाटे युथ क्लब र बकैया गाउँपालिकाको बकैया एफसी रहेको छ । त्यसैगरी समूह ‘बी’ मा हेटौँडा फुटबल एकेडेमी, पर्सा जिल्लाको बीरगन्ज स्पोट्र्स एकेडेमी, चितवन जिल्लाको एम्बासडर्स फुटबल नेपाल र हेल्पफूल साइमन स्पोट्र्स क्लब रहेको छ । कात्तिक १ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार र दोस्रो हुने टिमले नगद ३० हजार पुरस्कार पाउने छ । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको कमाने फुटबल एकेडेमीका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो । महिला खेलाडीहरुको स्तरोन्नतिका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाको भनाइ छ ।











