हेटौंडा : मकवानपुर जिल्लामा आइतबार सवारी दुर्घटनामा परी ७ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको छुट्टाछुट्टै दुर्घटनामा परी ७ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आइतबार हेटौंडा उपमहानगरपालिका–६ स्थित हात्तीलेटमा धरान–चतरा सडकखण्डमा छतिवनबाट चौघडातर्फ आउँदै गरेको ग ११ प ३०६३ नम्बरको मोटरसाइकलले सोही दिशामा चिसापानीबाट चौघडातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी साइकल यात्री बागमती गाउँपालिका–६ बस्ने १८ वर्षीय प्रवीन तुम्सिङ मगर घाइते भएका छन् ।
मगरको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ भने मोटरसाइकल चालक तनहुँ जिललाको शुक्लागण्डकी नगरपालिका–३, मिलन टोल निवासी ३० वर्षीय आकाश भण्डारीको दाहिने कुम फ्याक्चर भएको छ । दुबैजना घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साइकल र मोटरसाइकल प्रहरी चौकी चौघडाको नियन्त्रणमा रहेको छ ।
यसैगरी, मनहरी गाउँपालिका–६ स्थित रमनटारको पूर्व–पश्चिम सडकखण्डमा मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ह ९५० नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्ँिटदा अटोमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मनहरी गाउँपालिका–६, प्रतापपुर निवासी ६० वर्षीय लक्ष्मीमाया मोक्तान, २३ वर्षीय बिमला तामाङ र ७० वर्षीय चन्द्रबहादुर मोक्तान छन् । घाइते तीनै जनालाई उपचारका लागि मनहरी अस्पताल पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अटो चालक मनहरी गाउँपालिका–६, रमौली बस्ने ३१ वर्षीय यन्जिल प्रजा र अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।
आइतबार नै हेटौंडा उपमहानगरपालिका–१ स्थित चौकीटोलमा त्रिभुबन राजपथ सडकखण्डमा सामरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको प्र ३–००५ प ५२९५ नम्बरको स्कुटरले बाटो क्रस गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा पैदलयात्री कैलाश गाउँपालिका–९, जुरीखेत घर भई हाल चौकीटोलमा डेरा गरी बस्दै आएका ५२ वर्षीय मदन नेपाली र स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडा बस्ने २१ वर्षीय साजन देउला घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबै जनालाई हेटौंडा अस्पतालमा पठाइएको थियो । सामान्य घाइते भएका स्कुटर चालक उपचारपश्चात् मकवनापुर जिल्ला प्रहरीको नियन्त्रणमा रहेका छन् ।











