ईतिहासका निर्माता जनता हुन तसर्थ ईतिहास सदैव विजेताले लेख्ने गर्दछ । नेपालको राजनीतिक इतिहासमा सदैव क्रान्तिको सफलतापछि प्रतिक्रान्तिले टाउको उठाउने प्रयास गरेको पाईन्छ । २००७ सालको राणा विरोधी आन्दोलन भयो, राणा राजा र दिल्ली मिलेर त्रिपक्षीय दिल्ली सम्झौता सँगै मोहन शम्सेर नै प्रधानमन्त्री भएपनि राणाहरू सत्तामा आएनन् । यद्दपी ‘खुकुरी दल’ स्थापना गरेर राणा शासन फर्काउने धृष्टता गरिएको थियो जुन जनताको चेतना र क्रान्तिको शक्तिको सामू निस्तेज भयो । यही कुरा इतिहासले देखाउँछ कि प्रतिक्रान्ति कहिले पनि सफल हुँदैन ।

त्यसपछि २०४६ सालमा पञ्चायत विरुद्धको जनआन्दोलन भयो । यस आन्दोलनले पञ्चायत प्रणाली समाप्त पार्‍यो र लोकतान्त्रिक व्यवस्थाको मार्ग प्रशस्त गर्‍यो । तथापि, पञ्चायतका समर्थकहरू र तिनको सोचबाट जन्मेको राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउने प्रयास गर्दै निरन्तर सक्रिय रह्यो । यो तथ्यले स्पष्ट देखाउँछ कि जसको विरुद्ध आन्दोलन हुन्छ, त्यसले फेरि शक्ति सम्हाल्ने वा पूर्व व्यवस्थामा फर्काउने प्रयास अवश्य गर्छ । २०६२/६३ सालको राजाविरोधी जनआन्दोलनले राजा ज्ञानेन्द्रलाई सत्ता छोड्न बाध्य पारेको थियो, तर त्यसपछि पनि राप्रपा र त्यसका समर्थकहरूले प्रतिक्रान्तिको अभियान निरन्तर चलाइरहेका थिए । इतिहासले प्रमाणित गर्छ यी प्रतिक्रान्तिकारी प्रयासहरू असफल भए । किनकि जनताको चेतना र लोकतान्त्रिक मूल्य, मान्यताले सधैं उनीहरूलाई जित्न दिन सकेन । पछिल्लो समयमा भएको जेन जी आन्दोलन २६ घण्टामै अभूतपूर्वरुपमा सफल भयो । यद्दपी युवा विद्यार्थी ठूलो मात्रामा हताहत भए, खर्बौंको भौतिक सम्पतिको क्षति भयो तर त्यसले संसद विघटन भयो, आन्दोलनकै जगमा नयाँ अन्तरिम सरकार बन्यो ।

यसपटक आन्दोलनको लक्ष्य कुनै व्यक्ति, राजा या शासन व्यवस्था फाल्नु थिएन । जनताले कुनै संविधान च्यात्न खोजेका पनि थिएनन् । यो आन्दोलनको उद्देश्य स्पष्ट थियो ‘भ्रष्टाचारको अन्त्य गर्नु’ । कुशासनबाट मुलुकलाई मुक्त गर्नु । भनिन्छ भ्रष्टाचारको प्रमाण हुँदैन, यो अमूर्त कुरा हो भनिन्छ, तर कहिलेकाहीँ यो सजीव तथ्यहरूले यत्रो सम्पति कसरी जम्मा हुन्छ भन्ने देखाउँछ । देउवा दम्पत्तिको घरमा बरामद सम्पत्ति सार्वजनिक हुँदा जनताले यस ‘अमूर्त राक्षस’ को वास्तविकता देख्न पाए । दीपक खड्काको कौशीबाट मिल्काइएको नोटको बिटाले देखाउँछ कि भ्रष्टाचारले सत्ता र संस्थाहरूलाई मात्र होइन, समग्र समाजलाई प्रभावित बनाएको छ । कम्बोडियामा लगानी छ, गिरिबन्धूमा ठूलो चलखेल छ भन्ने विषय घटनाहरूले प्रमाणित गर्दै ल्याएको छ ।

यही असह्य अन्याय र सत्ता स्वार्थका विरुद्धमा उठेको युवा पुस्ता नै आजको जेन जी आन्दोलन हो । यो लामो समयदेखिको असन्तोषको चरम अभिव्यक्ति हो । यी युवाहरूले अब सडकमा मात्र होइन, डिजिटल प्लेटफर्ममा पनि आफ्नो आवाज फैलाइरहेका छन् । फेसबुक, ट्विटर, टिकटक, युट्युब जस्ता प्लेटफर्महरूले युवाहरूको शक्ति अभिव्यक्तिको माध्यम बनेका छन् । जेन जी ले न कुनै पार्टीको झण्डा बोकेको छ, न कुनै नेताको निर्देशन पालना गरेको छ । उनीहरूको आन्दोलनको आधार सत्य, न्याय र पारदर्शिता हो । उनीहरूका हातमा बन्दूक छैन, तर आवाजमा चेतना र आँखामा उत्तरदायित्वको आगो छ ।

जेन जी को आन्दोलनले परम्परागत आन्दोलनहरूभन्दा फरक शैली अपनाएको छ । यहाँ नारा मात्र होइन, विश्लेषण र प्रश्न उठाउने शैली प्रमुख छ । सडकमा जुलुस हुँदा पनि उनीहरूको ध्यान मुद्दामा केन्द्रित छ, नेता वा पार्टीमा होइन । यो युवाको चेतना आधुनिक, डिजिटल र स्वतन्त्र छ । उनीहरूले देखाएका छन् कि आन्दोलन केवल शक्ति कब्जा गर्ने माध्यम होइन, समाज सुधार्ने र जिम्मेवारी बुझाउने प्रक्रिया पनि हुन सक्छ । तर इतिहासले देखाएको छ कि प्रत्येक आन्दोलनपछि प्रतिक्रान्ति जन्मिन्छ । आजको दिनमा पनि भ्रष्टाचार र सत्ता–संघर्षमा लिप्त केही शक्तिहरू युवाको आन्दोलनलाई ‘अराजकता’ भनी लाञ्छित गर्न खोजिरहेका छन् ।

अन्तरिम सरकारलाई ‘हा हूँ को सरकार भनिरहेको छ । मिडिया ट्रोल, मुद्दा दायर, गिरफ्तारी र चरित्र हत्या जस्ता तरिकाहरू प्रयोग गरेर उनीहरूको आवाज दबाउने प्रयास भइरहेको छ । हिजो राणाहरूले ‘खुकुरी दल’ गठन गरेर राणा शासन फर्काउने प्रयास गरेका थिए भने तत्कालीन सत्ताधारीहरूले गुन्डा परिचालन गरी डिजिटल खुकुरी दलको माध्यमबाट युवा आन्दोलनलाई निशाना बनाइरहेका छन् । युवा विद्यार्थीको रगतको टाटा नसुक्दै यिनले हुकार गर्दै संसद पुनस्र्थापना गर्ने, जेन जी बिरूद्ध जाहेरी लिएर प्रहरी परिसर पुग्ने कदम शहिद र आन्दोलनको मर्म माथिको आघात हो ।

तर इतिहासले प्रमाणित गरिसकेको छ प्रतिक्रान्ति कहिल्यै पनि सफल हुँदैन । राणा शासन फर्काउन सकिएन, राजा ज्ञानेन्द्रलाई फेरि गद्दीमा बसाउन सकिएन र अब एमाले–काँग्रेस गठबन्धनले पनि भ्रष्टाचारलाई कायम राख्न सक्दैन । देशभर मुद्दा हालेर, युवालाई गिरफ्तार गरेर वा आन्दोलनका समर्थकलाई ‘देशद्रोही’ ठहराएर पनि वास्तविक परिवर्तन रोक्न सकिँदैन । जेन जी ले देखाएको शक्ति केवल सडकमा मात्र सीमित छैन । यो चेतना घर, क्याम्पस, अफिस र डिजिटल संसारभर फैलिरहेको छ । उनीहरूको आन्दोलनले देखाउँछ राजनीतिक आन्दोलन केवल शक्ति कब्जा गर्ने प्रक्रिया होइन, तर समाजमा पारदर्शिता, उत्तरदायित्व र न्यायको खोजी पनि हो । अबको पुस्ताले सिकाइरहेको छ लोकतन्त्र केवल संविधान र संस्था होइन, जनताको जागरूकता र सहभागितामा निर्भर छ ।

भ्रष्टाचारको अन्त्य अझै पूर्णरूपमा भएको छैन, तर यो पुस्ताले देशमा डरको वातावरण सिर्जना गरेको छ । हरेक सरकारी निर्णय, प्रत्येक ठेक्का र प्रशासनिक कदम अब जवाफदेहिता र निगरानीको अधिनमा आउँछ । यही चेतना नै नयाँ नेपालको प्रारम्भ हो । यहाँ क्रान्ति सडकमा मात्र सीमित छैन, यो चेतनामा बस्छ, डिजिटल प्लेटफर्ममा फैलिन्छ र प्रत्येक नागरिकको जीवनमा असर पार्छ ।

नेपालको इतिहासले प्रमाणित गरिसकेको छ प्रतिक्रान्ति सधैं हार्छ । तर वास्तविक परिवर्तन तब मात्र सम्भव हुन्छ जब नयाँ पुस्ता सक्रिय, जागरूक र न्यायको खोजीमा अघि बढ्छ । र आजको जेन जी त्यसै मार्गमा अघि बढिरहेको छ । उनीहरूले देखाएका छन् कि शक्ति केवल सत्ता कब्जा गर्ने कुरा होइन, तर जिम्मेवारी, पारदर्शिता र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्ने कुरा हो । यसैले, इतिहास र वर्तमानको मिश्रणले देखाउँछ नेपालको लोकतान्त्रिक चेतना बलियो छ । राणा, राजा, पञ्चायत सबै परास्त भए, अब भ्रष्टाचार र शक्ति दुरुपयोगको विरुद्ध नयाँ पुस्ता उभिएको छ । यो पुस्ता केवल विरोध गर्न मात्र होइन, समाज सुधार्ने, भ्रष्टाचार अन्त्य गर्ने र उत्तरदायित्वको संस्कृति स्थापना गर्ने उद्देश्यले अघि बढिरहेको छ ।

जेन जी ले सिकाएको पाठ स्पष्ट छ प्रतिक्रान्ति कहिल्यै सफल हुँदैन, तर जिम्मेवार, जागरूक र विवेकशील आन्दोलन सधैं बलियो रहन्छ । यही चेतना र युवा शक्ति नै भविष्यको नेपाल बनाउने आधार हो । तसर्थ अहिलेको परिस्थितिलाई गिजोल्ने, धमिलो पानिमा माछा मार्न उद्दत्त शक्तिहरूले गम्भिररूपले सोचुन् मुलकलाई लयमा फर्काउन सकिएन भने मुलुक अस्थिरताको भुमरीमा फस्छ । राजनीतिक दलहरू पनि जिम्मेवार हुनुपर्छ, जेन्जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिदृश्यमा कांग्रेस माओवादीहरू आफैं भित्र शुद्धीकरण गर्ने, पार्टीलाई पुनर्जिवन, पुनर्ताजगी गरी महाधिवेशन मार्फत आन्तरिक कमि–कमजोरीको समिक्षा गरिरहेको सन्दर्भमा एमाले चाहि सत्ताबाट विस्थापित हुनुपरेको चोटले बर्वराइरहेको छ । केपी ओली जेन जीहरूलाई चुनौती दिइराखेका छन् । महेश बस्नेत राजनीतिक मुठभेड निम्त्याई रहेका छन् ।

भ्रष्टाचारको अन्त्य, सुशासनको अजेण्डा के जेन्जीहरूको मात्र हो ? संविधान संशोधन कांग्रेस, एमालेको पनि सरकार बन्दा कै अजेण्डा हो । देशले निकास पाउँछ, शासकीय स्वरूप परिवर्तन गर्दा स्थिरता आउँछ । देश संविधानमा लयमा हिँड्छ भने एमाले पनि नया परिवर्तित समय अनुरूप अघि बढ्न जरूरी छ । दोषी माथि कारबाही, शहिदको सपना अनुरूपको समृद्ध देश बनाउने जिम्मा सबै उमेर समूहको मानिसको हो । अहिले विदेशी शक्तिले हामीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन तसर्थ देश जनतालाई साक्षी राखेर लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता र स्वाभिमानलाई उचो बनाएर आफ्नो पहिचान कायम राख्दै सबै नेपाली मिलेर वर्तमान संकटबाट देशलाई निकास दिउँ । अस्तु ।