हेटौँडा : यतिबेला हेटौँडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा पर्व बिदा छ भने केही संस्थागत विद्यालयमा पठनपाठन भइरहेको छ । केही संस्थागत विद्यालयमा पनि पर्व बिदा छ भने केही सामुदायिक विद्यालयले माध्यमिक तहका विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । तर, हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनले भने दसैं र तिहार बीचको विदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीमा सीप सिकाई कार्य सञ्चालन गरिरहेको छ ।
मंगलबारबाट सुरु भएको सीप सिकाई कार्य आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ । सीप सिकाई कार्यमा विद्यार्थीलाई विभिन्न किसिमका सीपहरु सिकाइरहेको विद्यालयका सूचना अधिकारी एवम् कार्यक्रम संयोजक स्पन्दन गिरीले जानकारी दिनुभयो । चाडपर्वको बेलामा विद्यार्थीलाई कक्षा कोठा भन्दा बाहिर रहेर पनि सबै किसिमका कामहरु सिकुन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।
विद्यार्थीलाई बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म विद्यालयमै राखेर विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरिएको गिरीले जानकारी दिनुभयो । ५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई टपरी बुन्ने, गुन्द्री बुन्ने, बत्ती बनाउने, चित्रकला, कथा लेखन, मोतिको माला बनाउने, व्यवसाय गर्ने, रंग लगाउने लगायतका सीप सिकाइरहेको छ ।
कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकालाई व्यावहारिक साथै सफ्ट स्किल्समा बारेका जानकारी गराइएको छ । बालबालिकालाई व्यक्तिगत सरसफाई, वातावरण सरसफाई, आफ्नो सामानको हेरचाह गर्ने, पैसाहरु चिनाउने, आफ्ना अभिभावक तथा आपतकालीन अवस्थामा प्रयोग हुने सम्पर्क नम्बर तथा त्यसको प्रयोग, राम्रो तथा नराम्रो छुवाई र अन्य विषयमा जानकारी गराइरहेको गिरीले जानकारी दिनुभयो । कक्षा ४ का विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, खेर गएका कागजलाई पुनः प्रयोग गर्न मिल्ने बनाउने र गड्यौलाको मल बनाउन सिकाउने उहाँले बताउनुभयो ।
कक्षा ६ देखि १० का विद्यार्थीहरुलाई बिहान ५ बजेदेखि ६ बजेसम्म विद्यार्थीलाई पतञ्जली योग गुरुबाट योगा कक्षा प्रदान गरिएको छ । यस्तै विद्यालयमा अध्ययनरत छात्राहरुलाई तीन दिने आत्मरक्षा तालिमको व्यावस्था गरिएको छ । ५ कक्षाका विद्यार्थीलाई पब्लिक स्पिकिङ्ग तालिम संचालन गरिएको छ । बिहानको तालिम पश्चात कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीको पठनपाठन सुरु हुनेछ ।
कार्यक्रम संयोजक स्मिति गिरीले भन्नुभयो, ‘यस वर्ष पाठ्यक्रमसँग एकीकृत गरी काम हुँदैछ र यस वर्ष हामीले बालबालिकाले बनाएको सामानलाई बजारसम्मको यात्रा गराएर गणित, क्यान्टिन प्रोजेक्ट अन्तर्गत विज्ञान अनि अन्य विषयमा काम गर्दैछौं ।’ सीप सिकाई सातामा विद्यार्थीले तयार पारेको सामग्रीहरुलाई आगामी शुक्रबार समापनको दिन प्रदर्शनीमा राख्ने र त्यसको मूल्याङ्कन गरिने उहाँले बताउनुभयो । विद्यार्थीले उत्पादन गरेको सामग्रीहरुलाई विद्यालयमा आयोजना हुने विभिन्न कार्याक्रमहरुमा प्रयोग गरिनेछ ।
















