हेटौँडा ः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रक्तदान कार्यक्रम भएको छ । इन्द्रसरोवर गाउँपालिका–५, फाखेलस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभाको अवसरमा शनिबार भएको कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् ।
सहकारीले गएको तीन वर्षदेखि वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । यसअघि शनिबार नै हेटौँडा–१०, बुद्धचोकमा पनि रक्तदान कार्यक्रम भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो र जेनजी आन्दोलनका घाइतेको उपचारमा सहयोग पुग्ने अपेक्षासहित रास्वपाले हेटौँडामा रक्तदान कार्यक्रम गरेको हो । रास्वपाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
हेटौँडा–१०, बुद्धचोकमा भएको कार्यक्रममा निवर्तमान सांसद विन्दवासिनी कंशाकारको पनि उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो । आइतबार पनि मकवानपुरको मनहरी गाउँपालिकाको रजैयामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।










