काँग्रेस संसदीय दलको बैठकमा सहभागीहरु ।

हेटौँडा : नेपाली कांग्रेसले बागमती प्रदेशसभाको सभामुख पदमा दावी गर्ने भएको छ । प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सरकारी निवासमा बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रदेश सभामा रिक्त रहेको सभामुख पदमा दावी गर्ने निर्णय गरेको हो । दलका नेता बानियाँको अध्यक्षतामा बसेको बैठकले विपद् व्यवस्थापनदेखि सभामुख चयनसम्बन्धी विषयमा महत्वपूर्ण निर्णय गरेको संसदीय दलका सचीव मीनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

हालै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनुभएपछि सभामुख पद रिक्त रहेको छ । सभामुख पाठकले गत २३ भदौमा जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । उहाँले लगत्तै १ असोजमा उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाउनुभएको थियो । यद्यपि उहाँको राजीनामा भने स्वीकृत भइसकेको छैन । तिहार अघि बस्ने प्रदेशसभा बैठकले सभामुखको राजीनामा स्वीकृत गर्ने तयारी भइरहेको छ ।

यस्तै सचिव महर्जनका अनुसार बैठकले हालैको मनसुनजन्य विपद् व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी राहत र पुनःस्थापना कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको छ । बैठकमा आगामी पूरक बजेटका विषयमा दलभित्र थप छलफल गरी साझा धारणा बनाउने सहमति भएको पनि सचिव महर्जनले बताउनुभयो । बैठकले प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा समावेश भएको १० लाख रुपैयाँ भन्दा कम बजेटका योजनाहरु उपभोक्ता समितिबाट कार्यान्वयन गर्ने र १० लाख रुपैयाँ माथिका योजना टेण्डर मार्फत् गर्ने निर्णय गरेको उहाँको भनाई छ ।