हेटौँडा : मकवानपुर जिल्लामा बिहीबार विभिन्न कार्यक्रमहरूको आयोजना गरी १५१ औँ विश्व हुलाक दिवस मनाइएको छ । प्रत्येक वर्ष अक्टोबर ९ तारिखमा विश्वभर मनाइने हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय मकवानपुरले तीन दिने विविध कार्यक्रमहरू आयोजना गरेको कार्यालयका सूचना अधिकारी नायब सुब्बा सपना सिवाकोटीले जानकारी दिनुभयो ।
विश्व हुलाक दिवस २०२५ को नारा ‘पोस्ट फर पिपुल लोकल सर्भिस, ग्लोबल रिच’ रहेको छ । जिल्ला हुलाक कार्यालय, हुलाक काउन्टर, हुलाक कार्यालयहरू र अतिरिक्त हुलाक कार्यालयहरूमा तीन दिनसम्म सरसफाई र दीपावली गरी दिवस मनाइएको सूचना अधिकारी सिवाकोटीले जानकारी दिनुभयो । दिवसको अवसरमा असोज २१ गते हुलाक कर्मचारीहरूबीच हाजिरीजवाफ प्रतियोगिता, २२ गते व्याड्मिन्टन प्रतियोगिता र २३ गते प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
असोज २१ गते मंगलबार भएको हाजिरीजवाफ प्रतियोगितामा जिल्लाभरिका २० जना हुलाक कर्मचारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई ५ समूहमा विभाजन गरिएको थियो । जसमध्ये लालजीत मोक्तान, ममिता रेग्मी, ज्योति बस्नेत र भगवती सिराई सम्मिलित टीम मकालु प्रथम भएको थियो । यस्तै, टीम ल्होत्से दोस्रो र टीम माछापुच्छ्रे तेस्रो भएको थियो । विजेताहरूलाई प्रमाणपत्र प्रदान गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै २२ गते बुधबार हटियामा हुलाक कर्मचारीहरूबीच व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो । महिला र पुरुष कर्मचारीहरूबीच छुट्टाछुट्टै भएको उक्त प्रतियोगितामा महिलातर्फ ज्योति बस्नेत र पुरुषतर्फ सुसान भुजेल प्रथम हुनु भएको थियो भने महिलातर्फ शुद्धमाया स्याङ्तान र पुरुषतर्फ रविशंकर चौधरी द्वितीय हुनु भएको थियो । प्रथम हुनेले प्रमाणपत्रसहित नगद १ हजार ५ सय र दोस्रो हुनेले प्रमाणपत्रसहित नगद १ हजार प्राप्त गरेका छन् । त्यसैगरी २३ गते बिहीबार बिहान मकवानपुर जिल्ला हुलाक कार्यालयबाट प्रभातफेरी सुरु भई कान्ति लोकपथ, स्कूलरोड र बसपार्क हुँदै पुनः जिल्ला हुलाक कार्यालयमा पुगेर सम्पन्न भएको सूचना अधिकारी सिवाकोटीले बताउनुभयो ।
बिहीबार दिउँसो हुलाक दिवसको अवसरमा आयोजित मूल कार्यक्रममा हेटौंडा उपमहानगरपालिका-११ निवासी पुनबहादुर मोक्तानलाई प्रथम सेवाग्राहीको रूपमा जिल्ला हुलाक कार्यालय मकवानपुरले सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा नायब सुब्बा सपना सिवाकोटी, कार्यालय सहयोगी शुक्रकुमार लामा र हल्कारा नानीमाया तिमल्सिना भट्ट सम्मानित हुनुभएको छ । सोही कार्यक्रममा प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरी सम्मान गरिएको सूचना अधिकारी सिवाकोटीले जानकारी दिनुभयो ।











