दुर्घटना ग्रस्त ईभी गाडी र मोटरसाइकल

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

मंगलबार बिहान ६ बजेर ४५ मिनेटको समयमा सिन्धुलीबाट काठमाडौं जान हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ००२–००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो ।

दुर्घटनामा ईभीमा सवार १३ जना र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन् । घाइतेहरूलाई बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौंडा ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरू गरेको जनाएको छ ।