हेटौँडा : अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथ पुनः सञ्चालनमा आएको छ । बकैया गाउँपालिका–११, घट्टेपाखा सिमात घुम्तीमा गएको ठूलो पहिरो पन्छाएपछि सोमबार बिहानदेखि लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार साँझसम्म लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षाका प्रमुखहरू सोमबार बिहानै पहिरो प्रभावित क्षेत्रमा पुगेर अनुगमन र व्यवस्थापन कार्यमा संलग्न भएका थिए । गत शुक्रबार रातिदेखिको लगातार वर्षाले कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । प्रशासनका अनुसार ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीनवटा ठूला पहिरोहरू शुक्रबार नै पन्छाइएका थिए भने सोमबार हेटौँडादेखि बगुवा खोलासम्मका साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिरोहरू पनि हटाइएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले हेटौँडाबाट काठमाडौं जोड्ने सबै मार्ग सञ्चालनमा आइसकेको जानकारी दिनुहुँदै यात्रु र चालकहरूलाई भने सतर्कता अपनाउन आग्रह गर्नुभयो । कान्ति लोकपथ सञ्चालनमा आएसँगै हेटौँडा–काठमाडौं आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ ।
















