भरतपुर अस्पतालस्थित एनआईसीयुमा उपचाररत नवजात शिशु ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिका–५ स्थित हाम्रो घर बालगृह अगाडि आइतबार फेला परेको नवजात शिशुको अवस्था अहिले सुधारोन्मुख रहेको छ । आइतबार दिउँसो १ बजेको समयमा भेटिएकी नवजात शिशु (छोरी) लाई हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पतालको एनआइसियुमा राखिएको छ ।

कुपोषित भई कमजोर स्वास्थ्य अवस्था देखिएकी अन्दाजी १५ दिने शिशुको तौल ७ सय ५० ग्राम मात्रै रहेको छ । बेवारिसे अवस्थामा भेटिएकी शिशुको अभिभावक पहिचान अझै हुन सकेको छैन । शिशुको अभिभावक बारे अनुसन्धान भइरहेको उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ ।