हेटौँडा : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित गरी निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुरु भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालयले एक सूचना जारी गर्दै असोज ९ गतेदेखि कार्तिक ३० गतेसम्म मतदाता नामावली संकलन कार्य सञ्चालन हुने जनाएको छ ।

मतदाता नामावलीमा नाम दर्ता नभएका नेपाली नागरिकहरूले यस अवधिमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् । यसका लागि आयोगको वेबसाइटमा रहेको ‘प्रि–रजिस्ट्रेशन’ प्रणालीबाट आवेदन भरी त्यसको प्रिन्ट कपी र आवश्यक कागजातसहित निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ । नाम दर्ताका लागि १ प्रति प्रिन्ट गरिएको प्रि–रजिस्ट्रेशन आवेदन, नेपाली नागरिकताको सक्कल र त्यसको १ प्रति प्रतिलिपि अनिवार्य गरिएको छ ।

त्यसैगरी मतदाता नामावलीमा नाम भइसकेका तर विवरण सच्याउनु पर्ने नागरिकहरूले पनि यस अवधिमा आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन् । विवरण सच्याउनका लागि नागरिकता, विवाह दर्ता वा बसाइसराइ प्रमाणपत्रसहित आयोगको वेबसाइटमा निवेदन दिई निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । नागरिकहरूलाई तोकिएको समयभित्र आफ्नो मतदाता नामावलीमा नाम दर्ता गर्न वा विवरण सच्याउन निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयका अधिकारीका अनुसार असोज १० गतेदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन आउने क्रम सुरु भएको छ । विशेषगरी जेन जी पुस्ताका मतदाताको उल्लेख्य उपस्थिति रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाकी नायव सुब्बा सम्झना ढकालले जानकारी दिनुभयो । दसैं अघि कार्यालय बन्द हुने अन्तिम दिन असोज १२ गते १ सय ६२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । असोज १२ गते मतदाता नामावलीमा नाम दर्ता गराउने मध्ये ९० प्रतिशतभन्दा बढी जेन जी पुस्ताका रहेको ढकालले जानकारी दिनुभयो ।