हेटौँडा : अविरल वर्षापछि अवरुद्ध भएका मकवानपुर हुँदै काठमाडौं जोड्ने मुख्य सडकखण्डहरू मध्ये केही सोमबार बिहानैदेखि सुचारु भएका छन् भने केही सडक अझै पनि अवरुद्ध रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौविसे) मार्गमा सवारी साधनको आवागमन पुनः सुरु भएको छ ।

तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ भने अझै अवरुद्ध नै रहेको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा रहेको डोढारे खोलाले राजमार्गकै केही भाग बगाएको छ । साथै, दक्षिणकाली मन्दिर नजिक ठूलो पहिरो गएको कारण सो खण्डमा सवारी सञ्चालन हुन नसकेको हो ।

प्रहरी निरीक्षक सापकोटाका अनुसार सो सडकखण्डको सिस्नेरी भागमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

यस्तै, कान्ति लोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठूला पहिरोले सडकका केही भाग बगाएका छन् भने हेटौँडादेखि बगुवा खोलासम्म साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिरो खसेका छन् ।

प्रहरीका अनुसार कान्ति लोकपथमा खसेका पहिरो पन्छाउने र बगाएको सडक मर्मत गर्ने कार्य तीव्रगतिमा भइरहेको छ ।