हेटौँडा : हेटौँडा उपमहानगरपालिका–५ स्थित हाम्रो घर बालगृह अगाडि आइतबार दिउँसो नवजात शिशु फेला परेको छ । आइतबार दिउँसो १ बजेको समयमा अन्दाजी १५ दिनको नवजात शिशु (छोरी) फेला परेको हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ ।
कुपोषित भई कमजोर स्वास्थ्य अवस्था देखिएकी शिशुको तौल ७ सय ५० ग्राम मात्रै रहेको छ । बेवारिसे अवस्थामा भेटिएकी शिशुको अभिभावक पहिचान हुन सकेको छैन भने त्यहाँ कसले छाडेर गयो भन्ने पनि यकिन हुन सकेको छैन । नवजात शिशुको उद्दार गरी हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख लामिछानेले जानकारी दिनुभएको छ ।
















