पहिरो पन्छाएर बाटो खुलाउँदै

हेटौंडा : निरन्तरको वर्षा रोकिएसँगै आज आइतबार हेटौंडाको आकाश खुलेको छ । शुक्रबार देखिको निरन्तरको वर्षा रोकिएसँगै हेटौंडाको मौसममा सुधार आएको हो ।

मौसममा सुधार पहिरोका कारण अवरुद्ध बनेका वैकल्पिक राजमार्ग खुलाउने काम सुरु भएको छ। शनिबार साँझदेखि काठमाडौं जाने कुलेखानी – फाखेल, सिस्नेरी र कान्ति लोकपथ सडकखण्ड पहिरोले बन्द हुँदा सवारीसाधन र यात्रु हेटौंडामै रोकिएका छन्। मौसममा आएको सुधारसँगै विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

वर्षा रोकिएर आज मौसम केही खुलेपछि बिहानैदेखि पहिरो पन्छाउने कामलाई तीव्रता दिइएको छ । निरन्तरको वर्षापछि गएको पहिरोका कारण हेटौंडाबाट काठमाडौं जाने अवरुद्ध भएका सडकहरु खुलाउने काम थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । शनिबारको अविरल वर्षाका कारण भीमफेदी-सिमखोला र सिमखोला-फाखेल सडक खण्डका केही स्थानमा पहिरो खसेको उहाँले बताउनु भयो । सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सवारीलाई हेटौंडाको चौकीटोल, बुद्धचोक, चौघडा लगायतका स्थानमा होल्ड गरिएको उहाँले बताउनु भयो।

डिएसपी बोगटीका अनुसार दक्षिणकाली-९ स्थित बिष्णुखोलाको पहिरो हटाउने काम जारी छ । फाखेल सडकखण्ड अन्तर्गत महालक्ष्मी खोलाको पहिरो पन्छाइसकिएको छ भने सल्लेमा खसेको पहिरो हटाउन करिब एक घण्टा लाग्ने अनुमान छ । पहिरो हटाउनका लागि हेभी इक्विपमेन्टहरू प्रभावित क्षेत्रमा पठाइसकिएको उहाँले बताउनु भयो ।

यता, मकवानपुरकको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सडकको अवस्था र सुरक्षा सुनिश्चित नभएसम्म सवारी सञ्चालन नगरिने बताउनु भयो। उहाँका अनुसार सुरक्षाकर्मीको टोलीले पहिरोग्रस्त क्षेत्रको स्थलगत अनुगमन गर्नेछ । सडकको अवस्था सुरक्षित रहेको प्रतिवेदन र काठमाडौं प्रशासनबाट रोकिएका सवारीलाई पठाउन आदेश आएपछि मात्र होल्ड गरिएका सवारीलाई गन्तव्यतर्फ जान दिइने प्रजिअ श्रेष्ठले स्पष्ट पार्नुभयो ।