शिक्षकको योगदानको सम्मान गर्नका लागि हरेक वर्ष अक्टोबर ५ तारिखमा अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाइने गरिन्छ । यो दिवसले शिक्षक प्रतिको आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्दछ ।
ऐतिहासिक पृष्ठभूमि केलाउँदा अन्तर्राष्ट्रिय शिक्षक दिवस सन् १९९४ अक्टोबर ५ मा पहिलो पटक मनाइएको पाईन्छ । सन् १९६६ मा युनेस्को र अन्तर्राष्ट्रिय श्रम संगठन बीच भएको एक ऐतिहासिक सन्धि टिचिङ ईन फ्रिडमलाई सम्झना गर्ने दिनको रुपमा पनि मनाइने गरेको पाईन्छ । उक्त सन्धिमा पहिलो पटक शिक्षकको काम कर्तव्य र अधिकार लगायतका महत्वपूर्ण विषयहरूमा सहमति गरी अभिलेख गरिएको छ । शिक्षकको सामाजिक, व्यावसायिक र मानव अधिकार सुनिश्चितता समेत सन्धिमा उल्लेख गरिएको छ । यसै परिवेशलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय शिक्षक दिवस मनाउने चलन चलाइएको हो ।

शिक्षकहरूले समाज, संस्कृति र भविष्य निर्माणमा महत्वपूर्ण प्रभाव पार्ने गर्दछन् । अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा शिक्षकहरूप्रति सम्मान प्रकट गर्नुको साथसाथै शिक्षामा सुधार र गुणस्तर वृद्धिका लागि बहस चलाइने पनि गरिन्छ । यसै अवसरमा निवृत्त शिक्षकलाई समेत उहाँहरुको विगतको योगदानको आधारमा सम्मान गर्न भने चुक्नु हुँदैन । उर्जाशील निवृत्त शिक्षकहरुलाई सांगठनिक विकासको माध्यमबाट शिक्षा सुधारमा र शिक्षकको मनोबल उच्च गराउने कार्यमा क्रियाशील गराउनु आजको आवश्यकता हो । जसले गुणस्तरीय शिक्षा अभिबृद्धि गराउने कार्यमा मद्दत पुग्नेछ ।

शिक्षक दिवसले शिक्षकको महत्व स्मरण गराउँदै एउटा गहिरो प्रश्न पनि उब्जाउने गर्दछ कि, शिक्षक कसरी आदर्श बन्न सक्छन् ? वास्तवमा शिक्षकको भूमिकाले विद्यार्थीको भविष्य उज्वल बनाउनुको साथै राष्ट्रको भविष्य पनि निर्धारण गर्ने गर्दछ । त्यसैले राष्ट्र र समाजले शिक्षकबाट ठूलो अपेक्षा राखेका हुन्छन् । शिक्षक ज्ञान दिने व्यक्ति मात्र नभई नैतिकता, शिष्टाचार, राष्ट्रप्रेम र अनुशासनको संवाहक पनि हुनु पर्दछ । आदर्श शिक्षक बन्नका लागि पहिले नैतिकता अपरिहार्य हुन्छ । नैतिक आधार बिना शिक्षा अधुरो हुने गर्दछ । विद्यार्थीले शिक्षकलाई हेरेर सिक्ने गर्दछन् । शिक्षकले सत्य, इमानदारिता, समानता र न्यायको मूल्यलाई आफ्नो जीवनमा उतारे मात्र विद्यार्थीले पनि त्यस्तै मूल्य अंगाल्छने गर्दछन् । त्यसैले शिक्षक आफैँ नै जीवित पुस्तक हुन् र उनको हरेक बोली, व्यवहार र निर्णय विद्यार्थीका लागि पाठशाला हुने गर्दछ ।

शिक्षक राष्ट्र र राष्ट्रियताको अभियन्ता पनि हुन् । उनीहरूले दिने शिक्षा राष्ट्र निर्माणसँग प्रत्यक्ष जोडिने गर्दछ । यदि शिक्षकमा राष्ट्रप्रेम हुन्छ भने मात्र विद्यार्थीमा पनि राष्ट्रप्रेम जाग्नेछ । शिक्षकले पढाउँदा मात्र होइन, व्यवहारमा पनि राष्ट्र र समाजप्रतिको कर्तव्य प्रदर्शन गर्नु पर्दछ । यसरी शिक्षक आदर्श नागरिकका रूपमा प्रस्तुत भए मात्र विद्यार्थीमा जिम्मेवारीबोध, आत्मअनुशासन र देशप्रेम बढ्नेछ ।

नेपालमा शिक्षाको गुणस्तर बृद्धि गर्न तीनै तहका सरकार क्रियाशील छन् । सरकारको प्रयासमा विगतको तुलनामा धेरै राम्रो परिणाम पनि आएको पाइन्छ । तर अझै सन्तोषजनक हुन लगानी अभिबृद्धिको खाँचो देखिन्छ । चुनौतिको रुपमा विद्यालयमा विद्यार्थीको उपस्थिति कमजोर छ, सार्वजनिक विद्यालय र निजी विद्यालयबीच ठूलो खाडल छ, मूल्याङ्कन प्रणालीमा त्रुटि छ, र शिक्षण पद्दति अझै पुरानै ढर्राको छ । यस्तो अवस्थामा शिक्षा सुधारका लागि मुख्य दायित्व सरकार, शैक्षिक अभियन्ता र शिक्षककै काँधमा आउने गर्दछ । शिक्षकले पठनपाठनलाई परीक्षामा पास गराउने सीमामा मात्र सीमित नराखी जीवनमुखी बनाउन सक्नु पर्दछ । शिक्षणलाई घोकन्ते शैली भन्दा सिर्जनशील, प्रश्नमुखी, प्रयोगमुखी र आलोचनात्मक बनाउनु पर्दछ । यसका लागि नयाँ प्रविधि, प्रस्तुति, छलफल र अनलाइन स्रोतको प्रयोगमा ध्यान दिन आवश्यक हुन्छ ।

शिक्षा सुधारका लागि शिक्षकको मूल्याङ्कन र प्रोत्साहनको व्यवस्था हुन आवश्यक छ । राम्रा शिक्षकलाई समयमै सम्मान, पुरस्कार, पदोन्नति र सुविधाको व्यवस्था गरिनु पर्दछ । जब शिक्षकको योगदानलाई समाजले कदर गर्छ, तब उनीहरू अझ बढी समर्पित हुने गर्दछन् । तर यतिले मात्र पर्याप्त हुँदैन । जो शिक्षक कर्तव्यच्युत छन्, बेइमान छन्, आफ्नै लाभमा मात्र केन्द्रित हुने गर्दछन्, विद्यालयमा सुर्तिजन्य पदार्थ सेवन गर्ने गर्दछन्, विद्यार्थीलाई बेवास्ता गर्ने गर्दछन्, यौन दुव्र्यवहारमा फस्ने गर्दछन् तिनीहरूलाई बेलैमा उचित दण्डको व्यवस्था पनि हुनुपर्दछ । यसले शिक्षण पेसामा शुद्धता ल्याउन, प्रतिस्पर्धा बढाउन र गुणस्तर कायम गराउन मद्दत पुग्दछ ।

शिक्षकलाई प्रेरणा दिन सकियो भने मात्र शिक्षा प्रणाली प्रभावकारी हुने गर्दछ । प्रेरणा भनेको केवल आर्थिक पक्ष मात्र होइन, सामाजिक सम्मान र व्यावसायिक विकासको अवसर पनि हो । शिक्षकलाई जीवनयापन गर्न गाह्रो हुने अवस्था भएमा उनीहरू आफ्नो पेशाप्रति समर्पित हुन सक्दैनन् । त्यसैले आर्थिक सुरक्षाको सुनिश्चितताको साथसाथै व्यावसायिक तालिम र अवसरको पनि खाँचो छ । जसले शिक्षकलाई नयाँ पद्दति सिक्न र समयअनुसार आफूलाई अधावधिक गर्न मद्दत गर्दछ । सामाजिक रूपमा पनि शिक्षकलाई उच्च सम्मान दिन सकियो भने उनीहरू गर्वका साथ शिक्षण पेशामा निरन्तर लागिरहन्छन् । शिक्षकलाई प्रेरणा, सुविधा र सम्मान प्रदान गर्न सकियो भने शिक्षा सुधार हुन्छ, शिक्षा सुधार भए समाज सुधार हुन्छ, र समाज सुधार भए राष्ट्र समृद्ध बन्छ ।

शिक्षा व्यक्तिको सोच, संस्कार, चेतना र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने सशक्त माध्यम हो । समाजमा देखिएको सामाजिक कुरीति, अन्धविश्वास, छुवाछुत, लैंगिक भेदभाव, अशिक्षा, गरिबी, विभेद, बालबिबाह, लैंगिक हिंसा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक समस्याहरूलाई चेतनाको माध्यमबाट समाधान गर्ने क्षमता शिक्षामा हुन्छ । शिक्षाको माध्यमबाट त्यो चेतना दिने प्रमुख व्यक्ति भनेको शिक्षक नै हुन्छन् ।

नेपालको शिक्षा प्रणालीमा सुधार गर्न अति आवश्यक छ । शिक्षाले व्यक्तिलाई ज्ञान, सीप र विवेक मात्र प्रदान नगरी समाजलाई सभ्य, अनुशासित र प्रगतिशील बनाउने आधारभूत कार्य पनि गर्नु पर्दछ । कुनै पनि राष्ट्रको समृद्धि, दिगोपन र लोकतान्त्रिक विकास शिक्षामै आधारित हुन्छ । शिक्षा केवल व्यक्तिगत विकासको साधन मात्र नभई राष्ट्रिय समृद्धि र सामाजिक रुपान्तरणको मेरुदण्ड पनि हो । त्यसैले शिक्षक वर्गसहित नागरिक समाजका प्रबुद्ध वर्गले समावेशी, सीपमूलक र गुणस्तरीय शिक्षा प्रणाली निर्माणमा योगदान पुर्‍याउन सक्नु पर्दछ । शिक्षा र शिक्षकले विध्वंस मच्चाउन कदापी सिकाउँदैनन् । बालबालिका र युवाले देशमा व्याप्त भ्रष्टाचारलाई निर्मुल गर्न र आफ्नो स्थान स्थापित गर्न जेन्जी आन्दोलनको नाममा जायज माग गरेकोमा त्यसलाई समय सापेक्ष सम्बोधन गर्न भने चुकेको पाईन्छ । निर्दोष बालबालिकाको टाउको र छातीमा गोली हान्दा किन हात काँपेनन् ? देशको सार्वजनिक सम्पत्तीमाथि आगजनी र तोडफोड हुनु नागरिकले गर्ने असोभनीय उद्दण्ड हुन, होईन र ? कसैको बहकाउमा लागेर, आवेगमा आएर के व्यावसायिक भवन र व्यक्तिको घरमा आगजनी गर्न लाग्दा अलिकती पनि नैतिकता र विवेक जागेन ? आन्दोलनको नाममा देशलाई खरानी बनाउने दुश्कर्म अब कसैले गर्न र गराउनु हुँदैन भन्ने आम नागरिकको चित्कार सुनिन्छ । अबको पाठ्यक्रममा विशेषगरी नैतिकता, राष्ट्र र राष्ट्रियता विषय समेट्नुको साथै शिक्षकले समेत यस विषयमा गहिरिएर हृदयंगम गर्नुपर्ने देखिन्छ ।

‘शिक्षक नै सकारात्मक सामाजिक रुपान्तरणको संवाहक हुन्’, भन्ने वाक्य केवल भावनात्मक होइन, यथार्थपरक पनि हो । शिक्षकहरू बिना शिक्षित समाजको परिकल्पना गर्न सकिन्न, र शिक्षित समाज बिना समृद्ध राष्ट्रको निर्माण असम्भव जस्तै हुन्छ । अन्ततः शिक्षक उज्यालो भए समाज उज्यालो हुन्छ, शिक्षक नैतिक भए राष्ट्र नैतिक बन्छ, शिक्षक प्रेरित भए भविष्य उज्यालो हुन्छ । तसर्थ हामी सबैले शिक्षकलाई आदर्श र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्नुपर्दछ । सोहि अनुसार शिक्षकले पनि आफ्नो भूमिकालाई यथार्थमा जीवन्त बनाउँदै राष्ट्र निर्माणको यात्रामा अगुवाइ गर्नु पर्दछ । यही नै अन्तर्राष्ट्रिय शिक्षक दिवसको सन्देश हो र यही हाम्रो सामूहिक संकल्प पनि हुनु पर्दछ । धन्यबाद ।