हेटौँडा : भारी वर्षासँगै कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह प्रतिघण्टा ३० सेन्टिमिटरका दरले बढ्न थालेको छ । शनिबार साँझ ५ बजेसम्म कुलेखानी जलाशयमा पानीको तह समुद्री सतहबाट १ हजार ५ सय ६ मिटर ५० सेन्टिमिटर पुगेको छ ।
कुलेखानी जलविद्युत आयोजना प्रथमका अधिकारीका अनुसार पानीको सतह वृद्धि हुने क्रम बढ्दो क्रममा छ । शनिबार दिउँसो १२ बजे १ हजार ५ सय ५ मिटर २५ सेन्टिमिटर मापन गरिएको थियो । जलाधार क्षेत्रमा भारी वर्षा भएसँगै शनिबार साँझ ४ बजेदेखि ५ बजे १ घण्टाको अवधिमा २७ सेन्टिमिटर बढेको छ । ५ बजेबाट प्रतिघण्टा ३० सेन्टिमिटरका दरले पानीको सतह बढ्ने कुलेखानी जलविद्युत आयोजनाका अधिकारीको भनाइ छ । दिउँसो १२ बजेदेखि १ बजेको बीचमा ८ सेन्टिमिटरका दरले पानीको सतह बढेको थियो ।
यस वर्ष सुख्खा मौसममा कुलेखानी जलविद्युत आयोजनाको जलाशयमा पानीको सतह १ हजार ४ सय ८४ मिटरसम्म पुगेको थियो । पर्याप्त वर्ष नभएका कारण असोज दोस्रो सातासम्म नेपाल विद्युत प्राधिकरणको पावर व्याकअपको रुपमा रहेको कुलेखानी जलाशय नभरिने चिन्ता बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारसम्म भारी वर्षाको सम्भावना हुने भएपछि कुलेखानी जलाशय भरिने अनुमान गरिएको छ ।
कुलेखानी जलविद्युत आयोजना १, २ र ३ गरी कुल १ सय ६ मेगावाट जडित क्षमता रहेको छ । गत वर्ष असोज ११ र १२ गतेको भारी वर्षाका कारण कुलेखानी जलाशयबाट पानी भरिएर ड्यामबाट छाड्नुपर्ने अवस्था आएको थियो ।











