हेटौँडा : जेन जी आन्दोलनको क्रममा क्षति पुगेका बागमती प्रदेशका २ मन्त्रालयलाई उद्योग प्रदर्शनी केन्द्रको भवनमा स्थानान्तरण गरिएको छ । हेटौंडा–१ मा रहेको ४ वटा मन्त्रालयको भवन पाँचौं तलामा रहेको श्रम रोजगार तथा यातायात मन्त्रालय र हेटौँडा–१० स्थित स्वास्थ्य मन्त्रालयलाई हेटौँडा–४ मा रहेको उद्योग प्रदर्शनी केन्द्रको भवनमा स्थानान्तरण गरिएको हो ।

गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा उक्त मन्त्रालयको भवनमा तोडफोड र आगजनी गरिएको थियो । आगजनीबाट क्षति पुगेको सो मन्त्रालयहरु प्रदेश सरकार अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडा मातहत रहेको बृहत् घरेलु तथा उद्योग उपज प्रदर्शनीको भवनमा सारिएको हो । मन्त्रालयको पहिलो तलामा स्वास्थ्य मन्त्रालय राखिएको छ भने दोस्रो तलामा श्रम रोजगार तथा यातायात मन्त्रालय राखिएको छ । हालै निर्माण सम्पन्न भई हस्तान्तरण भएको उक्त भवनमा मन्त्रालयका लागि तयारी भइरहेको छ ।

स्थानीयस्तरमा उत्पादन हुने वस्तुहरूको बजारीकरण, प्रवद्र्धन र प्रदर्शनमा मात्र नभई स्वरोजगार र सीपयुक्त मानवशक्ति विकासमा सहयोग पु¥याउने अपेक्षासहित निर्माण गरिएको उक्त भवन गत साउन ३१ गते मात्र उद्घाटन गरिएको थियो । हेटौँडा–४, भुटनदेवी मावि परिसरमा निर्मित उक्त भवन प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त भवनको भुइ तलामा पार्किङ राखिएको छ भने पहिलो तलामा सटरहरु निर्माण गरिएको छ । पहिलो तलाको संरचनामा प्रदर्शनी कक्ष, गोष्ठी, छलफल तथा अन्तरक्रिया कक्ष रहेको छ भने सोही कक्षमा उत्पादक, विक्रेता, उपभोक्ता र व्यवसाय प्रवद्र्धनकर्ताबिच सहकार्य र नेटवर्किङ बढाउने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको छ । भवनको दोस्रो तलामा पनि प्रदर्शनी कक्ष रहेको छ ।

दुवै तलामा आवश्यकताका आधारमा कोठाहरु निर्माण गरेर घरेलु तथा उद्योगजन्य उपजहरु प्रदर्शनीका लागि स्टल तयार गर्नुपर्ने गरी हलहरु बनाइएको थियो । तर, पछिल्लो समयको राजनीतिक परिस्थिती र घटनाका कारण सो भवनमा मन्त्रालय राखिएको हो । प्रदेश सरकारको लगानीमा बृहत् घरेलु तथा उद्योग उपज प्रदर्शनी भवन निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको थिएन । सञ्चालनको मोडालिटी तयार नहुँदा उक्त भवन प्रयोगमा आउन नसकेको हो ।

हाल उक्त भवनहरुमा पार्टेशन गरेर मन्त्री तथा सचिवहरु र कर्मचारीहरुको कोठा निर्माणको काम जारी छ । शहरी विकास तथा भवन कार्यालय मार्फत् तयार भइरहेको उक्त भवनहरुका लागि १५ लाख रुपैयाँको लागत अनुमान गरी काम गरिरहेको हो । कार्यालयका प्रमुख सुवोध अधिकारीका अनुसार उक्त स्थानमा मन्त्रालय राख्न पार्टेशनका लागि मात्र लागत अनुमान तयार गरिएको हो । स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवको २ वटा कोठाको पूरा र अन्य कर्मचारीको आधा भाग पार्टेशन गर्नेगरी युपिभिसी प्रोफाइल प्रयोग गरेर ६ लाख रुपैयाँको लागत अनुमान रहेको उहाँले बताउनुभयो ।

यता श्रम रोजगार तथा यातायात मन्त्रालयमा भने सोही प्रकृतिको कोठाहरु तयार गर्न ९ लाख रुपैयाँको लागत अनुमान गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयको तलामा सटरहरु रहेकाले कम लागत लागेको र श्रममा हल रहेकाले बढी लागत लागेको उहाँले बताउनुभयो । सो बाहेक अन्य कुनै पनि खर्च कार्यालयबाट व्यहोर्ने जानकारी नरहेको उहाँले बताउनुभयो । सो स्थानमा आकस्मिक रुपमा प्रयोगका लागि मात्र गएका मन्त्रालयहरु स्थायी व्यवस्थापनमा लागेका छन् । स्वास्थ्य मन्त्री किरण थापाका अनुसार पुरानो स्थानमा मन्त्रालय पुनःस्थापना गर्न करिव एक वर्ष लाग्ने छ । सो अवधि भर उद्योग प्रदर्शनी भवनबाटै कार्य थाल्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । हाल कोठा व्यवस्थापनका लागि काम भइरहेको र छिट्टै सम्पन्न गरी शिघ्र सेवा दिने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो ।
हाल कोठा व्यवस्थापनसहित मन्त्री र सचिवको लागि शौचालय व्यवस्थापनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । भवन संरचनामा क्षति नपुग्ने गरी वैकल्पिक रुपमा शौचालयहरु व्यवस्थापन गर्ने र आवश्यक मात्रामा एसीहरु जडानका लागि काम भइरहेको उहाँको भनाई छ । आगामी एक वर्षसम्म सोही भवनबाट कार्य गर्नेगरी मन्त्रालयको तयारी रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यमा मात्र ४ करोडको क्षति

जेन जी आन्दोलनका क्रममा २ वटा मन्त्रालय रहेको हेटौँडा–१० स्थित भवनमा आगजनी भएको थियो । आगजनीबाट स्वास्थ्य मन्त्रालयको स्टोर, मन्त्रीको कार्यकक्षमा जलेर नष्ट भएको थियो । आगजनीबाट प्रादेशिक आपतकालीन केन्द्रको भवनमा समेत क्षति पुगेको मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । सचिव डा. गौतमका अनुसार आगजनीका कारण मन्त्रालयको १३ वटा सवारी साधनमा क्षति पुगेको छ ।

जसमा ३ वटा गाडी रहेको छ भने ९ वटा मोटरसाइकल र एक वटा स्कुटर जलेर नष्ट भएको उहाँले बताउनुभयो । मन्त्रालयको ४ करोडको सामग्रीहरु जलेर नष्ट भएको उहाँको भनाई छ । स्टोरमा रहेका विभिन्न स्वास्थ्य उपकरणसहित ६ वटा ल्यापटप, ८ वटा कम्प्युटर समेत जलेर नष्ट भएको र केही चोरी भएको उहाँले बताउनुभयो । चोरी भएका केही सामग्रीहरु फिर्ता समेत भएको छ । उहाँका अनुसार मन्त्रालय अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ५ वटा गाडी, प्रशासनिक भवन जलेर नष्ट हुँदा ४ करोड ७८ लाख रुपैयाँको क्षति पुगेको उहाँले बताउनुभयो । यता श्रम रोजगार तथा यातायात मन्त्रालयमा भने खासै क्षति भएको छैन । आगलागी र तोडफोडबाट एसी र कम्प्युटर, पर्दा तथा सोफा टेबलमा क्षति पुगेको छ । समग्र रुपमा सो मन्त्रालयमा २५ लाख रुपैयाँको क्षति पुगेको अनुमान गरिएको छ ।