बिहीबार बागमती प्रदेशसभाको क्षतिग्रस्त अवस्था अवलोकन गर्नुहुँदै नेता नेता जम्कट्टेलसहित अन्य नेताहरु ।

हेटौँडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले संकटको समयमा सरकार सम्पर्कविहीन बनेको आरोप लगाउनुभएको छ । ‘जेन जी आन्दोलन’का क्रममा प्रदेशसभा तथा सरकारका संरचनाहरुमा आगजनीका घटना हुँदा प्रदेश सरकार पूर्णरुपमा गैरजिम्मेवार र सम्पर्कविहीन बनेको उहाँले आरोप लगाउनुभयो ।

आन्दोलनबाट क्षतिग्रस्त प्रदेशसभा भवनको निरीक्षणका क्रममा प्रमुख सचेतक रत्न ढकालसहित पुग्नुभएका जम्कट्टेलले संकटको घडीमा आफूले मुख्यमन्त्रीलाई सम्पर्क गर्न खोज्दा दुई दिनसम्म सम्पर्क हुन नसकेको र अन्य मन्त्रीहरुले फोन नै बन्द गरेको बताउनुभयो । उक्त घटनाले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको उहाँको भनाई छ । संवेदनशील समयमा सरकारका प्रतिनिधिहरु सम्पर्कबाहिर रहनु अत्यन्तै दुःखद् भएको उहाँले बताउनुभयो । नेता जम्कट्टेलले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्ने प्रमुख दायित्व सरकारको भएको पनि जीकिर गर्नुभएको छ ।

‘कार्यकारिणी भूमिकामा रहेको सरकार छ । हामीले त आवाज उठाउने कुरा हो, हामीले उठायौँ । मैले आफैँले मुख्यमन्त्रीलाई सम्पर्क गर्न कोसिस गरेँ, करिब दुई दिनपछि मात्रै उहाँको सम्पर्क भयो । मन्त्रीज्यूहरुका त सबैका फोन अफ । यो पनि मलाई अचम्म लाग्यो । फेरि, यस्तो बेलामा मन्त्रीज्यूहरुको फोनचाहिँ अफ हुने ?’, नेता जम्कट्टेलले भन्नुभयो, ‘यो पनि त्यति राम्रो लागेन । यस्तो बेला सम्पर्क हुनुपथ्र्यो, भेटघाट हुनुपथ्र्यो, छलफल हुनुपथ्र्यो । प्रदेश सरकार तर्फबाट जनतालाई अपिल पनि हुनुपथ्र्यो । यो व्यवस्था त्यसै आएको व्यवस्था होइन नि । यो व्यवस्था ल्याउन लडेका पार्टीहरु नै अहिले सरकारमा हुनुहुन्छ । त्यसैले त्यो अपिल गर्न सक्नुपर्छ । किनभने हाम्रो संविधान कायम छ । हामी कायम छौँ । हाम्रो संरचना कायम छ ।’

सरकारले आफ्नो आधारभूत जिम्मेवारीसमेत पूरा गर्न नसकेको उहाँले बताउनुभयो । प्रदेश सरकारको उपस्थितिमा ठूलो कमि महसुस भएको उहाँको भनाई छ ।