हेटौँडा : देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट भागेका कैदीबन्दीहरु मध्ये मकवानपुरबाट १६६ जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरुलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दी मध्ये ७८ जनालाई पक्राउ गरिएको छ भने ३६२ जना कैदीबन्दी अझै फरार रहेका छन् । भीमफेदी कारागारमा एक नाबालकसहित कुल १ हजार ६६ जना कैदीबन्दी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जनाकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरस्थित बाल सुधारगृहबाट भागेका ७२ जना मध्ये ४१ जनालाई नियन्त्रणमा लिइएको छ भने ३१ जनाको खोजी कार्य जारी छ । उक्त बाल सुधारगृहमा कुल ९४ जना रहेका थिए ।
काठमाडौँ उपत्यकाका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई पनि मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ । नख्खु कारागारबाट भागेका मध्ये ७ जना र जगन्नाथदेवलस्थित केन्द्रिय कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको छ । कास्की कारागारबाट भागेका १ जना र तनहुँ जिल्ला कारागारबाट भागेका २ जनालाई नियन्त्रणमा लिइएको सुरक्षा निकायले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिइएका ३५ जना कैदीबन्दी कुन कारागारबाट भागेका हुन् भन्ने खुल्न बाँकी रहेको प्रवक्ता अर्यालले बताउनुभयो । उनीहरुको पहिचान गर्ने कार्य भइरहेको र सुरक्षा निकायहरुले फरार रहेका अन्य कैदीबन्दीहरुको पनि खोजी कार्यलाई तीव्रता दिएको उहाँको भनाई छ ।











