हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा तथा कफ्र्यु सम्बन्धी नयाँ आदेश जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्रशासनले नागरिकको जनधनको सुरक्षा र जनजीवनलाई सामान्यीकरण गर्ने उद्देश्यले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अर्को आदेश जारी नभएसम्मका लागि समय तालिका सार्वजनिक गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचना अनुसार जिल्लामा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म पूर्णरूपमा कफ्र्यु लागू हुनेछ । सो समयमा अत्यावश्यक बाहेक कुनै पनि किसिमको हिँड्डुल तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यसैगरी, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ । सो अवधिमा पनि अनावश्यक जमघट र भीडभाड गर्न पाइने छैन ।
प्रशासनले अत्यावश्यक कामका लागि आवतजावत गर्न निश्चित समय छुट्याएको छ । जसअनुसार, नागरिकले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि आवतजावत गर्न सक्नेछन् ।
के–के गर्न पाइन्छ ?
– आदेशको समयमा पाँच जनाभन्दा बढी मानिस भेला हुन तथा जम्मा हुन पाइने छैन ।
– एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालनमा रहनेछन् ।
– औषधि, खाद्यान्न, पशुपन्छीको दाना, इन्धन, दूध, तरकारी र पानी ढुवानी गर्ने सवारी साधनहरूलाई रोक लगाइने छैन ।
– सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले हवाई टिकट देखाएर सुरक्षाकर्मीसँग समन्वय गरी विमानस्थलसम्म जान पाउनेछन् ।
– जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा तथा कफ्र्युको आदेश उल्लंघन गर्ने कुनै पनि गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरासमेत सूचनामा उल्लेख गरिएको छ ।











