हेटौँडा : हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय ५ महिनादेखि व्यवस्थापन समिति विहिन रहेको छ । गत वर्ष चैतको १४ गते विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको र अहिलेसम्म अर्को समिति गठन हुन नसकेको विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले बताउनु भयो ।

पुरानो समितिको म्याद सकिएपछि विद्यालय अभिभावकविहिन बनेको छ । पुराना समितिको कार्यकाल सकेलगतै चैत्र १५ विद्यालयले अभिभावक भेला आयोजना गरे तापनि अहिलेसम्म समिति गठन हुन सकेको छैन । अभिभावक भेलाबाट ३० जना अभिभावकले नयाँ समितिमा रहने इच्छाले नाम टिपाएका थिए । तर विद्यालयमा विगतदेखि ४ सदस्यीय समितिले काम गर्दै आएको प्रावधान छ । समिति गठनका लागि अभिभावकहरुबीच आपसी सहमति हुन सकेको छैन । सामाजिक अगुवाहरुलाई बोलाएर अभिभावकहरु बीच सहमति गराउने प्रयास गरेको तर सहमति नहुँदा समिति गठन प्रक्रियामा अन्यौलमा परेको प्रधानाध्यापकको भनाइ छ ।

मंसिर मसान्तसम्म सहमति जुट्न नसकेमा कानून अनुसार निर्वाचन प्रक्रियामा जाने प्रधानाध्यापक कर्णले जानकारी दिनुभयो । व्यवस्थापन समिति नहुँदा पनि दैनिक पठनपाठन लगायतका कार्यमा शिक्षक तथा कर्मचारीको तर्फबाट कुनै कमि कमजोरी नरहेको उहाँले बताउनुभयो ।