हेटौंडा : हेटौंडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबारदेखि सञ्चालित ‘स्काउट ओरामा एण्ड फेष्टिबल क्याम्प’ मंगलबार समापन भएको छ । नेपाल स्काउट, स्थानीय स्काउट हेटौंडा र महेन्द्र माध्यमिक विद्यालयको संयुक्त आयोजनामा चार दिवसीय क्याम्पको समापन भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा क्याम्प अवधिभर भएका विभिन्न प्रतियोगितामा उत्कृष्ट स्काउट सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । क्याम्पको पहिलो दिन उद्घाटन समारोहमा भएको मार्चपास प्रतियोगिता, दोस्रो दिन सम्पन्न डिजिटल हाजिरीजवाफ प्रतियोगिता, तेस्रो दिन सम्पन्न सांस्कृतिक पहिरन प्रदर्शनी तथा स्काउट गाँठो प्रतियोगिता, चौथो दिनमा सम्पन्न पाक शिक्षा एवम् नृत्य प्रतियोगिता र फोहोर व्यवस्थापन प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुन सफल स्काउट विद्यार्थीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
क्याम्प अवधिभर २१ प्रकारका साहसिक खेल तथा क्रियाकलाप सञ्चालन गरिएको छ । स्काउट विद्यार्थीहरुमा अनुशासन, क्षमता विकास, आत्मरक्षा सिप विकास, विपद् व्यवस्थापनमा सक्रियता, शारीरिक सुगठन विकास लगायतका उद्देश्यहरु राखी कार्यक्रममा साहसिक खेलहरु सञ्चालन गरिएको आयोजकले जनाएको छ । क्याम्पमा बागमती प्रदेशको चितवन, काठमाडौं र मकवानपुर, मधेस प्रदेशको सर्लाही र गण्डकी प्रदेशको नवलपुर जिल्लाका ४० वटा विद्यालयका करिब एक हजार विद्यार्थीको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत लुम्बाको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा स्थानीय स्काउट हेटौंडाका आयुक्त अनिल आचार्य, नेपाल स्काउट राष्ट्रिय कार्यसमिति सदस्य एवम् विपद् व्यवस्थापन विभाग प्रमुख अशोक सारु मगर, राष्ट्रिय परीक्षा बोर्ड हेटौडाका प्रमुख बद्री पाठक, हेटौंडा–१३ नम्बर वडाका वडा अध्यक्ष पेम्बा लामा, स्काउट हेटौंडा अध्यक्ष डेमिज थापालगायतको उपस्थिति रहेको थियो ।











