अन्तरक्रियाको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : नुवाकोट उद्योग वाणिज्य संघको भ्रमण टोलीले हेटौँडामा मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग अन्तरक्रिया गरेका छन् । नुवाकोटका १५ सदस्यीय भ्रमण टोली बुधबार हेटौँडा आएर मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग अन्तरक्रिया गरेको हो ।

नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा आएका भ्रमण टोलीसँग विभिन्न संस्थागत, उद्योग÷व्यवसाय तथा जिल्लाको पर्यटनसँग सम्बन्धित विषयहरुमा आपसी छलफल भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले बताउनु भयो । भ्रमण टोलीलाई स्वागत गर्नुहुँदै मकवानपुरका अध्यक्ष रानाभाटले संघको गतिविधि, आयस्रोत, मकवानपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरु बारे चर्चा गर्नुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवालले हेटौँडाको हावापानी, औद्योगिक क्षेत्र, यातायात क्षेत्र, पर्यटकीय स्थलहरु र नेपाल उद्योग वाणिज्य महासंघको गतिविधिहरुको बारेमा चर्चा गर्नुभयो ।

संघको आम्दानीको मूल स्रोत मेला तथा महोत्सव रहेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । आठौँ महोत्सव यही माघमा आयोजना गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । रसुवा–केरुङ सडक निर्माणले नुवाकोटमा पनि विकासको ढोका खोल्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । संघको आम्दानी तथा दक्ष जनशक्ति निर्माणका लागि कम्प्युटर, व्युटिपार्लर, सिलाई जस्ता तालिमहरु आयोजना गर्ने गरेको र पालिकाबाट उल्लेखनीय सहयोग हुने गरेको नुवाकोटका अध्यक्ष श्रेष्ठको भनाई छ ।