हेटौँडा : सडक पेटीको बास, डेन्ड्राइडको सहारामा धानिएको जीवन । नेपाली समाजको ठेट भाषामा उसको परिचय ‘खाते’ थियो । खुल्ला आकास उसको घर थियो, च्यातिएका बोरा र काटुनका टुक्रा बिछ्यौना ।
यो कहानी चलचित्र वा परिकल्पनामा मात्र सिमित होइन । हेटौंडाका गल्ली गल्लीमा भेटिने राजु अधिकारीको कथा हो । न उसको परिचय थियो, न नै नाम । समय अन्तरालमा उसको परिचय बन्यो । अझ बनाए । सडक बालक ‘खाते’बाट उठेर राजु हुँदै अब उसको परिचयक राजु अधिकारी मात्र होइन । डाङ्डुङ्गेका राजु अधिकारी बनेको छ ।
कुनै समय हेटौंडाको सडकपेटीलाई नै आफ्नो घर र आकाशलाई छानो बनाएका राजु अधिकारीको जीवनमा खुसीको नयाँ बिहानी छाएको छ । मामाघर नेपालको संरक्षणमा हुर्किएका राजु अधिकारीले वैदेशिक रोजगारीको कमाइले हेटौंडामा बनाए ४ कोठे पक्की घरबाट दुव्र्यसन र सडकको अँध्यारो त्यग्दै स्वावलम्बनको उज्यालोतर्फको यात्रामा अग्रसर भएको छ ।
सडक बालकका रुपमा कष्टकर जीवन बिताइरहेका उनै राजु आज आफ्नै पसिनाको कमाइले बनाएको चार कोठे घरको मालिक बनेका छन् । लागूऔषध दुव्र्यसन र विभिन्न असामाजिक गतिविधिबाट गुज्रिँदै हक्कीको राष्ट्रिय खेलाडी बनेका राजुको यो यात्रा कुनै फिल्मी कथाभन्दा कम छैन ।
२०६८ सालमा हेटौंडाको सडकबाट उद्धार गरिएका राजुलाई मामाघर नेपाल मकवानपुरले संरक्षण दिएको थियो । संस्थाका संस्थापक अर्पण पराजुली (मामा) को प्रेरणा र साथले राजुको जीवनले नयाँ मोड लियो । डेन्ड्राइटको नशामा डुबेर भोक बिर्साउने र फोहोरको थुप्रोमा भविष्य खोज्ने राजुको त्यो अतीत अब एउटा तितो सपना जस्तो मात्रै भएको छ । २०६८ सालमा हेटौंडाको सडकबाट उद्धार गरिएका राजुको ‘सडकका राजु’ बाट ‘डाङ्डुङ्गेका राजु’ बनेका छन् ।
अँध्यारो अतीत र सडकको जीवन
मकवानपुरको हेटौंडामा अन्तरजातीय विवाह गरेका आमाबुबाको निरन्तरको कलह र बुबाको कुटपिट सहन नसकी केवल ६ वर्षको उमेरमा राजुले घर छाडेका थिए । त्यसपछि उनको घर सडक बन्यो र साथीहरु सडक बालबालिका नै बने । जाडोमा कठ्याङ्ग्रिदा होस् वा कसैले ‘खाते’ भन्दै पानी छ्यापेर ब्युँझाउँदा होस्, उनको बाल्यकाल अत्यन्तै कष्टकर रह्यो ।

अरुले फालेका चुरोटका ठुटा तान्नु र भोक लाग्दा डेन्ड्राइटको नशामा लठ्ठिनु उनको दैनिकी थियो । राजुले काठमाडौंका हनुमानढोका, न्यूरोडदेखि हेटौंडाका गल्लीसम्म उनले करिब एक दशक सडकमै बिताए । जहाँ उनले बिनाकारण प्रहरीको डण्डा पनि खाए ।
अर्पण ’मामा’सँगको भेट
२०६७ सालतिर, सडक बालबालिकामाथि थेसिस लेख्ने क्रममा अर्पण पराजुलीको भेट राजु र उनका साथीहरुसँग भयो । एकदिन सडक पेटीको ठेलामा अरुले मःम खाएर छाडेको टपरी चाटिरहेको दृश्यले अर्पणको मन छोयो ।
उनले ती बालबालिकालाई मःम खुवाए र उनीहरुसँगै, उनीहरुकै जस्तो बनेर ५२ दिन सडकमा बिताए । यही क्रममा एक बालकले अर्पणको थर पराजुली भएको थाहा पाएपछि ‘मेरो मामा पनि पराजुली’ भने, र त्यहीँबाट अर्पण सबैका ’मामा’ बने । अनि जन्मियो ‘मामाघर नेपाल’ । अर्पण मामाले नै राजुलाई नाम दिए । पहिचान दिए र माया के हो भन्ने सिकाए ।
सडकको खुला जीवनबाट मामाघरको अनुशासित जीवनमा अभ्यस्त हुन राजुलाई सहज थिएन । उनी पटक–पटक भागे । तर अर्पण मामाको अथक प्रयास र सम्झाइ बुझाइपछि उनी मामाघरमै रमाउन थाले ।
यसैबीच, मामाघरमा सहयोग स्वरूप प्राप्त भएको हक्की ब्याट र बलले उनको जीवनमा नयाँ मोड ल्याइदियो । हक्की प्रशिक्षक मनोज शर्माको नजरमा परेपछि उनले व्यावसायिक तालिम पाए र पछि हक्कीका राष्ट्रिय खेलाडी बन्न सफल भए । उनले प्रदेशस्तरीय प्रतियोगितादेखि इण्डो–नेपाल इन्टरनेशनल फ्रेन्डसिप सिरिजसम्म खेले र आफ्नै कप्तानीमा नेपाललाई जित पनि दिलाए ।
औपचारिक शिक्षामा मन नलागेपछि मामाघरले उनलाई विभिन्न सीपमूलक तालिमहरुमा लगायो । उनले इलेक्ट्रीसियन, प्लम्बिङ, फ्रिज मर्मत जस्ता काम सिके ।
कतार यात्रा अनि घरको सपना
खेलकुदले मात्रै जीवन धान्न सक्ने अवस्था थिएन । त्यो भन्दा पनि महत्वपूर्ण कुरा राजुलाई आफ्नो परिचय बनाउनु थियो । आफ्नो स्थायी परिचय बनाउन घर आवश्यक छ भन्ने अर्पण मामाको प्रेरणा राजुले बनाएका थिए । सोही प्रेरणाबाट राजुमा विदेश जाने रहर पलायो ।
आफ्नै घर बनाउने सपना बोकेर उनी कतार पुगे । विदेशको भूमिमा अनेकौं दुःख र चुनौतीको सामना गरे, तर आफ्नो लक्ष्यबाट विचलित भएनन् । अहिले राजुको त्यो सपना साकार भएको छ ।
हेटौंडा उपमहानगरपालिका–११, डाङ्डुङ्गेमा १० धुर जग्गामा बनेको ४ कोठे घर र जग्गाको लालपुर्जा आज राजुको हातमा छ । बुधबार मात्र हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा एक विशेष कार्यक्रमबीच उनलाई गृह प्रवेश गराइएको छ ।
‘हेर्दा घर सानो होला तर हाम्रो लागि यो दरवारभन्दा कम छैन । राजुको पारिवारिक पुनस्र्थापना गराउन नसके पनि सामाजिक पुनस्र्थापना गराउन सफल भएकोमा हामी खुसी छौं । यो एक व्यक्तिको गृहप्रवेश मात्र नभई एक प्रवृत्तिको रूपान्तरण हो ।’ मामा अर्पणले भने ।
हिजो कसैको सहारा खोजिरहेका राजु आज आफैं अरुका लागि प्रेरणाको स्रोत बनेका छन् । उनी आफ्नो भाइ राजालाई पनि सडकबाट उद्धार गरी मामाघरमा राखेर पढाइरहेका छन् । अर्पण मामाको ‘आफूले खाए पेट भरिन्छ, अरुले खाए आत्मा भरिन्छ’ भन्ने भनाइलाई आत्मसात् गर्दै उनी अब आफूजस्तै दुःख पाएकाहरुलाई सहयोगी भावना प्रकट गर्छन् ।










