राष्ट्रपतिबाट सम्मानित भएपछि राष्ट्रपति पौडेलसँगै मकवानपुरका किशन पौडेल र रमा सुवेदीसँगै १० कवि ।

हेटौँडा : नेपाल प्रज्ञा–प्रतिष्ठानको ६८ औँ वार्षिकोत्सको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ मा मकवानपुरका किशन पौडेल र रमा सुवेदी (मि रमा) पुरस्कृत हुनुभएको हो । प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सव–२०८२ का अवसरमा उत्कृष्ट भएका पौडेल र सुवेदीसहित दस जना कविलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले जनही चालिस हजार रुपैयाँ र कदरपत्रसहित सम्मान गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भएको छ । राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र संघर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा–प्रतिष्ठानकै भएको बताउनुहुँदै प्रज्ञा–प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक बहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मानित कविहरूमा सिराहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम पश्चिमकी तुलसी केसी, सुनसरीका स्यामुयल कोइराला, ललितपुरका सन्ध्या महर्जन, चितवनको सिर्जन अविरल र मकवानपुरका पौडेल र सुवेदी हुनुहुन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका राष्ट्रिय कविता महोत्सवको प्रथम, द्वितीय र तृतीय गरी ५ जना पुरस्कृत हुने ढाँचालाई परिवर्तन गरेर उत्कृष्ट दस छनौट गर्ने प्रक्रिया अपनाएको थियो । यसबाट ५ जना नेपाली भाषा र ५ जना मातृभाषाका कविका कविता पुरस्कृत हुँदै आएका छन् । यसबाट कम्तीमा पनि समावेशी र सहभागितामूलक ढङ्गले कविहरूको प्रतिनिधित्व रहने छ ।

राष्ट्रिय कविता महोत्सव २०८२ को अवसरमा इमेल र प्रत्यक्ष गरी ७ सय ८० वटा कविता प्राप्त भएको थियो । त्यसबाट प्रक्रियागत छनौटबाट उत्कृष्ट १० वटा कविता छानिएको गरिएको थियो । यस्ता महोत्सवले प्रतिभाहरूलाई सशक्त र ऊर्जाशील बनाउने प्रतिष्ठानको धारणा रहेको छ । यस्ता कार्यक्रमले प्राज्ञिक समृद्धि, भाषा, साहित्य र संस्कृतिको विकासमा प्रतिष्ठानले पु¥याएको योगदान महत्वपूर्ण रहेको र २०२२ देखि हुँदै आएको कविता महोत्सवको प्रभावले राष्ट्रियस्तरमै थुप्रै सशक्त र प्रतिनिधिमूलक थुप्रै कविहरुले आफ्ना प्रतिभा प्रस्फुटन गर्न पाउँछन् ।