हेटौंडा : जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा जिएस निकेतनकी आलिया थपलिया प्रथम हुनुभएको छ । आइतबार १८ औँ पुस्तकालय दिवसको अवसरमा साहित्य सङ्गम मकवानपुरले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आलिया थपलियाले प्रथम स्थान हासिल गर्नुभएको हो ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ शिर्षकमा प्रतियोगिता भएको हो । पुष्पलाल स्मृति पुस्तकालयमा भएको प्रतियोगितामा चन्द्रोदय माविकी रितिका खतिवडा द्वितीय, हेटौँडा एकेडेमीकी मानश्वी चापागाई तृतीय, जनप्रिय माविकी एरिना चौलागाई सान्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ हजार ५ सय, द्वितीय हुनेले नगद २ हजार, तृतीय हुनेले नगद १ हजार ५ सय पुरस्कारसहित सम्मानपत्र र २/२ थान पुस्तक प्राप्त गरेका छन् । चौथो हुने रोक्काले प्रोत्साहन स्वरुप नगद १ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा अमर माध्यमिक विद्यालय, हेटौंडा एकेडेमी, चन्द्रोदय माध्यमिक विद्यालय, सिद्धार्थ बोर्डिङ्ग स्कूल, जिएस निकेतन, ज्योति माध्यमिक विद्यालय, ब्रह्मादिक एकेडेमी, भूटनदेवी माध्यमिक विद्यालय, कृष्ण आदर्श विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, बालजागृति विद्यालय र प्रगति माध्यमिक विद्यालयका १८ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरे, झरना साहित्य परिवारका निवर्तमान अध्यक्ष विश्वनाथ सञ्जेल, देवराज खरेल, मुक्तिगोविन्द वैध लगायतका अतिथिहरुको उपस्थिति थियो । त्यसैगरी साहित्य सङ्म मकवानपुरका सल्लाहकार निमेष निखिल र शान्ति प्रियवन्दनाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाहक गर्नु भएको छ ।










