![agroministry](https://samriddhasamaj.com/wp-content/uploads/2020/08/IMG_1619-696x464.jpg)
हेटौंडाः बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका अनुदान वितरणमा पारदर्शी र जिम्मेवार हुन आग्रह गर्नुभएको छ । संघीय सरकार र प्रदेश सरकारदेखि स्थानीय सरकारबाट अनुदान प्राप्त गर्ने, अनुदान दिने र अनुदान पाउने व्यक्तिका छिमेकी कोही पनि खुसी हुने स्थिति नहुनु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । आज वार्षिक समीक्षा कार्यक्रममा सचिव डा. कार्कीले अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचि एकसाता अघि नै कार्यालयको वेभसाइटमा राख्न पनि निर्देशन दिनुभएको छ ।
बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले मातहतका कार्यालयको गत आर्थिक वर्षको समीक्षा कार्यक्रम गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाकक्षमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र सचिव डा. योगेन्द्रकुमार कार्कीको उपस्थितिमा निर्देशनालयमातहतका विभिन्न जिल्लामा रहेका कार्यालयका प्रमुखहरुले आज भर्जुअल मिटिङमा आआफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । निर्देशनालयमातहतका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मस्त्य विकास केन्द्र, बाख्रा विकास फार्मका प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यालय प्रमुखहरुको प्रस्तुतीपछि मन्त्री दावादोर्जे लामाले कार्यालय प्रमुखहरुले कामका लागि प्रतिस्पर्धा गर्न सुझाव दिनुभएको छ । गत आर्थिक वर्षमा कोरोना भाइरसको प्रभावका बाबजुद पनि सन्तोषजनक काम भएको उल्लेख गर्नुहुँदै मन्त्री लामाले कार्यालय प्रमुखहरुलाई आफ्नो जिम्मेवारी र जनताको सेवाका लागि व्यवस्थित र इमानदार भएर लाग्न निर्देशन समेत दिनुभएको छ ।