Home मुख्य समाचार अनुदान पाउने, अनुदान पाउनेका छिमेकी, अनुदान दिने कोही पनि खुसी छैनन्ः सचिव...

अनुदान पाउने, अनुदान पाउनेका छिमेकी, अनुदान दिने कोही पनि खुसी छैनन्ः सचिव डा. कार्की

मन्त्रालयमा आयोजित समीक्षा कार्यक्रममा सहभागी मन्त्री दावादोर्जे लामा र सचिव डा. योगेन्द्रकुमार कार्की ।

हेटौंडाः बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका अनुदान वितरणमा पारदर्शी र जिम्मेवार हुन आग्रह गर्नुभएको छ । संघीय सरकार र प्रदेश सरकारदेखि स्थानीय सरकारबाट अनुदान प्राप्त गर्ने, अनुदान दिने र अनुदान पाउने व्यक्तिका छिमेकी कोही पनि खुसी हुने स्थिति नहुनु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । आज वार्षिक समीक्षा कार्यक्रममा सचिव डा. कार्कीले अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचि एकसाता अघि नै कार्यालयको वेभसाइटमा राख्न पनि निर्देशन दिनुभएको छ ।

बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले मातहतका कार्यालयको गत आर्थिक वर्षको समीक्षा कार्यक्रम गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाकक्षमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र सचिव डा. योगेन्द्रकुमार कार्कीको उपस्थितिमा निर्देशनालयमातहतका विभिन्न जिल्लामा रहेका कार्यालयका प्रमुखहरुले आज भर्जुअल मिटिङमा आआफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । निर्देशनालयमातहतका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मस्त्य विकास केन्द्र, बाख्रा विकास फार्मका प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यालय प्रमुखहरुको प्रस्तुतीपछि मन्त्री दावादोर्जे लामाले कार्यालय प्रमुखहरुले कामका लागि प्रतिस्पर्धा गर्न सुझाव दिनुभएको छ । गत आर्थिक वर्षमा कोरोना भाइरसको प्रभावका बाबजुद पनि सन्तोषजनक काम भएको उल्लेख गर्नुहुँदै मन्त्री लामाले कार्यालय प्रमुखहरुलाई आफ्नो जिम्मेवारी र जनताको सेवाका लागि व्यवस्थित र इमानदार भएर लाग्न निर्देशन समेत दिनुभएको छ ।

Exit mobile version