खेल केवल जित वा हारको कुरा होइन, यो चरित्र निर्माण, सम्मान र अनुशासनको कुरा हो । अनुशासन बिना प्रतिभाशाली खेलाडी र बलिया टिमले पनि मैदानमा केवल अराजकता देखाउँछन् । पछिल्लो समय नेपाली फुटबलमा यस्तै अनुशासनको समस्या बारम्बार देखिँदै आएको छ, जसले खेलको सौन्दर्यलाई धुमिल बनाइरहेको छ ।

हालै सम्पन्न एन्फा यू–१६ ‘ए’ डिभिजन फुटबल लिगमा यसको ज्वलन्त उदाहरण देखियो । चर्च ब्वाइज युनाइटेड र एपीएफ एफसीबीचको भिडन्त प्रतिभा र कौशल देखाउने मञ्च बन्नुपर्नेमा झगडा र अव्यवस्थाले ढाक्यो । बेन्चबाट खेलाडी मैदानमा पसे, ठूलो झगडा भयो, र रेफ्री रबि काम्चाले १८ पहेँलो कार्ड र २ रातो कार्ड देखाउन बाध्य भए । फुटबल उत्सव बन्नुपर्ने खेल लज्जास्पद दृश्यमा परिणत भयो ।

यस्तो समस्या केवल यू–१६ लिगमै सीमित छैन । महिला लिग क्वालिफायरदेखि लिएर स्थानीय स्तरका गोल्डकप प्रतियोगितासम्म, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको असभ्य व्यवहार बढ्दो क्रममा छ । रेफ्रीसँग बारम्बार दुव्र्यवहार, खेल रोक्ने गरी हुलदंगा मच्चाउने, यहाँसम्म कि कतिपय खेलमा रेफ्रीलाई नै कुटपिट गर्ने जस्ता घटना बारम्बार देखा परेका छन् । यो केवल खेलाडीको अनुशासनको कमी होइन, प्रशिक्षक र व्यवस्थापकको गैरजिम्मेवारी पनि हो ।

यसले सम्पूर्ण फुटबल समुदायलाई हानी पु¥याउँछ– खेलाडीको भविष्य, टिमको छवि, समर्थकको उत्साह, अनि देशको खेलको प्रतिष्ठा । रेफ्री, नियम र प्रतिद्वन्द्वीप्रति सम्मान बिना फुटबलले आफ्नो आत्मा गुमाउँछ । फुटबलले अनुशासन, धैर्य र नेतृत्व सिखाउनुपर्ने हो; तर अहिले उल्टै हिंसा र अव्यवस्था फैलिरहेको छ ।

अब ढिलाई नगरी एन्फा, क्लब र खेलाडी सबैले जिम्मेवारी लिनुपर्ने समय आएको छ । अनुशासन तोड्नेहरूमाथि कडा कारबाही, रेफ्रीलाई सुरक्षा र खेलाडीलाई खेलकुद संस्कारबारे शिक्षाको व्यवस्था अनिवार्य छ । प्रशिक्षक र व्यवस्थापक स्वयंले उदाहरण प्रस्तुत गर्नुपर्छ । नेपालले अन्तर्राष्ट्रिय स्तरमा उचाइ चुम्ने सपना देखिरहेको छ भने त्यसको पहिलो आधार अनुशासन हुनुपर्छ । प्रतिभाले खेल जित्न सक्छ, तर अनुशासनले मात्र च्याम्पियन बनाउन सक्छ ।

कक्षा–११, जनप्रिय मावि, हेटौँडा–१६