हेटौँडा : बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सहकारी क्षेत्रलाई उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । उहाँले सहकारी क्षेत्रलाई बचत तथा ऋणको परम्परागत भूमिकाबाट माथि उठाउँदै उत्पादन, उद्यम र रोजगारीमा जोड्नु पर्ने बताउनुभयो ।
सहकारी तालिम केन्द्रसँगका अधिकारीसँग कार्यकक्षमै अन्तरक्रिया गर्नुहुँदै मन्त्री रायमाझीले सहकारीलाई सदस्यहरूको आर्थिक र सामाजिक उत्थानको माध्यम बनाउन बचत र ऋणको कारोबारमा मात्र सीमित राख्न नहुने बताउनुभयो । उहाँले सहकारीका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी तालिम संचालन गरेर परिणाममुखी बनाउन निर्देशन समेत दिनुभयो । सहकारी अभियानको महत्व, उपलब्धिलाई संस्थागत गर्दै सुधार र समस्या व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको धारणा छ ।
‘अब हाम्रो ध्यान सहकारीमार्फत स्थानीय उत्पादन बढाउने, उद्यमशीलता विकास गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारी दिने हुनुपर्छ’, मन्त्री रायमाझीले भन्नुभयो, ‘तालिमको पहुँच हरेक स्थानीय तहसम्म विस्तार गर्ने, सहकारीमा डिजिटल प्रविधि र ई–बैंकिङलाई अनिवार्य रूपमा समावेश गर्ने, महिला–युवा तथा विपन्न समूहलाई प्राथमिकता दिने व्यवस्था गर्नुपर्छ ।’
उहाँका अनुसार तालिमपछिको अनुगमन र मूल्याङ्कन प्रणालीलाई मजबुद बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । सहकारी क्षेत्रको प्रभावकारी कार्यान्वयनले मुलुकको आर्थिक समृद्धिको बलियो आधारस्तम्भ बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।











