प्रदेशसभा भवन । फाइल तस्वीर ।

हेटौँडा : बागमती प्रदेश सभा बैठक भदौ १५ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौँडाले बिहीबार एक सूचना जारी गर्दै भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले शुक्रबार जारी गर्नुभएको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ । प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश मामिला समितीमा विचाराधिन २ विधेयकको प्रतिवेदन पेश हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेश हुनेछ । बैठकमा विशेष समय र शून्य समयको कार्यसूचि रहने सभामुख पाठकले बताउनुभयो ।