हेटौंडा : यस वर्षको कमाने खसी कपको उपाधि देवनगर एफसीले जितेको छ । उपाधि भिडन्तमा फायरलाइन किरणचोकलाई पराजित गर्दै देवनगरले प्रतियोगिता जितेको हो ।
गत भाद्र ३ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन भएको कमाने रोयल्सका अध्यक्ष श्यामकुमार लोले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम थापाको प्रमुख आतिथ्य तथा एन्फा सचिव सुनिल लोप्चनको आतिथ्यमा भएको अन्तिम खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।
उपाधिका लागि भिडेका देवनगर एफसी र फायरलाइन किरणचोकबिच २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा देवनगर एफसी ४–३ अंकले जीत हात पार्न सफल भएको हो । विजेता टालीले शिल्ड, मेडल र प्रमाणपत्रसहित २५ केजीको खसी पुरस्कार पाएको छ । उपविजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १८ केजीको खसी पुरस्कार पाएको ।
कमाने रोयल्सले आयोजना गरेको प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । प्रतियोगिताको सबै खेल चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा भएको अध्यक्ष लोले बताउनु भयो ।
अन्तिम खेलको म्यान अफ द म्याच रोहन देउला भएका छन् । बेष्ट डिफेन्डर सम्राट देउला, बेस्ट फरवार्ड प्रशान्त देउला र बेस्ट गोलरक्षक कृन्जल श्रेष्ठ घोषित भएका छन् । प्लेयर अफ द टुर्नामेन्टको उपाधि पूर्ण गोले लामाले जितेका छन् । खेल क्षेत्रमा योगदान पुर्याएबापत धर्मराज पुडासैनी, कृष्णप्रसाद अर्जेल, सञ्जय पुलामी मगर, शंकर सापकोटा र यज्ञबहादर रायलाई कमाने रोयल्सले सम्मान गरेको अध्यक्ष लोले बताउनु भयो ।











