हेटौँडा : मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनामा रहेको जाल्पादेवी माविले प्रथम त्रैमासिक परीक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । शुक्रबार विद्यालयले नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभयो ।

गाउँपालिकाले निर्माण गरेको शैक्षिक क्यालेण्डरअनुसार विद्यालयले असार ३१ गतेदेखि साउन ७ गतेसम्म प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक सामग्रीसहित सम्मान गरिएको थियो । पहिलो त्रैमासिक परीक्षामा ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयले अभिभावक र विद्यार्थीहरुलाई उत्तरपुस्तिका तथा ग्रेडसिट वितरण गरेको छ । शैक्षिक गुणस्तर कायम राख्न उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो । विद्यालयको कक्षा नर्सरी र केजीबाट दुई–दुई जनाका साथै कक्षा ५ र कक्षा ३ बाट एक–एक जना विद्यार्थीले ४.० जीपीए ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाध्यक्ष टीकाप्रसाद दहालको प्रमुख आतिथ्य थियो । कार्यक्रममा वडा सदस्य जीतबहादुर घलानको विशिष्ट आतिथ्य रहेको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका सदस्यहरु, वडा प्रतिनिधिहरु, पूर्वप्रधानाध्यापक शिवप्रसाद पाण्डे, मनकाजी घलान, शिक्षक प्रतिनिधि भवनाथ गौतमलगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ४७४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।